काठमाडौं। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले आफ्नो १०० दिने शासकीय सुधार कार्यसूचीअन्तर्गत यातायात क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। यस कार्यसूचीअन्तर्गत सार्वजनिक यातायातमा सीसीटीभी जडानदेखि लाइसेन्स प्रिन्ट र ब्लु बस सञ्चालनलगायतका काममा तीव्रता आएको छ।
चैत १३ गते शपथग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको शासकीय सुधार कार्यसूचीमा '१०० दिनभित्र ब्लु बस सञ्चालन, भन्सारमा थन्किएका सवारीसाधन लिलाम, सार्वजनिक सवारीमा सीसीटीभी जडान, लाइसेन्स प्रिन्ट र घरैमा डेलिभरी गर्ने' भन्ने उल्लेख थियो।
सरकारले घोषणा गरेको कार्यसूचीमध्ये अहिलेसम्म उपत्यकामा सञ्चालित तीन हजारभन्दा बढी सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सीसीटीभी क्यामेरा तथा जीपीएस जडान गरिसकिएको छ भने सरकारले लाइसेन्स प्रिन्ट र डेलिभरीलाई पनि तीव्रता दिएको छ।
यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार २१ लाख लाइसेन्स प्रिन्ट भई डेलिभरी भइसकेको छ।
'अहिलेसम्म हामीले २१ लाख क्युआर कोडसहितको लाइसेन्स छापेर डेलिभरी समेत गरिरहेका छौं,' निर्देशक भुसालले भने, 'डेलिभरीका लागि हुलाकमार्फत पठाउनुपर्ने भएकाले केही समय लागे पनि हामीले पठाइसकेका छौं।' अब पुरानो तीन लाख लाइसेन्स छाप्न बाँकी रहेको उनको भनाइ छ।
निर्देशक भुसालका अनुसार पहिले लाइसेन्सको म्याद पाँच वर्ष थियो, जुन २०८२ साउन १४ गतेपछि १० वर्ष पुर्याइयो। त्यसैले पुरानो लाइसेन्समा एक वर्षभन्दा कम अवधि बाँकी भएका तीन लाख सेवाग्राहीको लाइसेन्स विभागले हाल छापेर होल्डमा राखेको छ।
'पुरानो तीन लाख सेवाग्राहीको लाइसेन्स अहिल्यै नयाँ बनाएर छाप्ने कि बाँकी अवधि पूरा भएपछि एकैचोटि १० वर्षे लाइसेन्स छाप्ने भन्नेबारे छलफल भइरहेको छ। बाँकी सबै लाइसेन्स भने प्रिन्ट भइसकेका छन्,' उनले भने। अहिल्यै छापियो भने छोटो समयमै फेरि अर्को पटक छाप्नुपर्ने हुने भएकाले होल्डमा राखिएको उनको भनाइ छ।
विभागका अनुसार आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा 'ब्लु बस' सञ्चालनमा ल्याइनेछ भने लामो समयदेखि थन्किएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणको काममा पनि उल्लेखनीय प्रगति भएको छ। साउन १ गतेदेखि सुरुवाती चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुईवटा र थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुईवटा बस सञ्चालन गरिनेछ। चक्रपथ (रिङरोड) क्षेत्रमा चारवटा बस सञ्चालन गरिनेछन्, जसमध्ये दुईवटा घडीको दिशामा (क्लकवाइज) र दुईवटा घडीको उल्टो दिशामा (एन्टिक्लकवाइज) सञ्चालन हुने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सरकारको १०० दिने कार्यसूचीमा घोषणा गरिएअनुसारका काम धमाधम भइरहेको विभागले जनाएको छ।
सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन र निगरानी प्रभावकारी बनाउन ड्यासक्यामेरा, सीसीटीभी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने उल्लेख गरेको थियो। सोहीअनुसार व्यवसायीहरूले पछिल्लो समय ड्यासक्यामेरा, सीसीटीभी क्यामेरा र जीपीएस जडानलाई तीव्रता दिएका हुन्।
पछिल्लो समय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सीसीटीभी क्यामेरा र जीपीएस जडान भए–नभएको अनुगमन तीव्र पारेपछि व्यवसायीहरू प्राथमिकताका साथ जडान गर्न लागेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म उपत्यकामा चल्ने तीन हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सीसीटीभी क्यामेरा तथा जीपीएस जडान गरिसकिएको छ।
भन्सारका गाडी लिलामी प्रक्रिया भने अझै अन्योलमा
सरकारले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीमा भन्सार कार्यालयमा वर्षौंदेखि थन्किएका सवारीसाधनको विवरण संकलन गरी तिनको प्रयोग, व्यवस्थापन वा लिलामी प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो। तर कार्यसूची सार्वजनिक भएको १०० दिन पूरा हुँदा पनि यस सम्बन्धमा ठोस प्रगति हुन सकेको छैन। यातायात क्षेत्रका लाइसेन्स छपाइ, सार्वजनिक सवारीमा सीसीटीभी क्यामेरा तथा जीपीएस जडान र ब्लु बस सञ्चालनजस्ता कार्यक्रमले गति लिए पनि भन्सारमा थन्किएका सवारीसाधन व्यवस्थापनको काम भने अझै अन्योलमै रहेको देखिन्छ।