काठमाडौं। गत असार १० मा भेनेजुयलामा लगातार गएका दुई शक्तिशाली भूकम्पले मानवीयसँगै ठूलो आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। भूकम्पले १० अर्ब डलरभन्दा बढी आर्थिक क्षति पुग्ने अनुमान भेरिस्कको विपत्ति र जोखिम समाधान समूहले अनुमान गरेको हो।
समूहले भेनेजुयलाको समष्टिगत आर्थिक अवस्था, उच्च मुद्रास्फीति, कम बिमा प्रवेश र प्रतिबन्धसँग सम्बन्धित बजार अवरोधले बिमा उद्योगको नोक्सानी हिस्सा अनुमान गर्न मुस्किल पर्ने बताएको छ।
विश्वव्यापी बिमा उद्योगका लागि रणनीतिक डाटा विश्लेषण र प्रविधि साझेदार भेरिस्कका अनुसार मुद्रास्फीति दबाब र द्रुत गतिमा परिवर्तनशील आर्थिक वातावरणमा बिमा गरिएको सम्पत्तिको सही मूल्यांकन गर्ने चुनौती यसमा समावेश छन्।
सिभिल इन्जिनियरिङ (रेलवे) जोखिम, समुद्री कार्गो र समुद्री हल जोखिम, उड्डयन जोखिम, ट्रान्जिट गोदाम जोखिम, व्यक्तिगत दुर्घटना जोखिम र क्षतिको अन्य गैरमोडेल स्रोतसँग सम्बन्धित क्षति भने यसमा समेटिएको छैन।
सुरुमा ७.२ म्याग्निच्युड र त्यसको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्पको केन्द्र राजधानी कराकसबाट लगभग १०० माइल पश्चिममा याराकुई राज्यको युमारे–मोरोन नजिकै थियो।
भूकम्पमा परेर २ हजार २९५ जनाको मृत्यु भएको छ भने ४३ हजारभन्दा बढी मानिस अझै पनि बेपत्ता छन् र १५ हजार ८६६ घरबारविहीन भएको भेनेजुयला राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बताएका छन्। लगभग १ हजार ४०० भवन ध्वस्त भएका छन्।–एजेन्सी