काठमाडौं। चैत १३ मा शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले शनिबार १०० दिने उपलब्धि र सार्वजनिक गर्ने भएको छ।
सरकारले यस अवधिमा गरेका कामको समीक्षासहित उपलब्धिको सुची सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्री शाहको सचिवालयले बताएको हो।
‘सरकार गठन भएको असार २० गते १०० दिन पुग्छ। त्यही दिन सरकारका कार्यप्रगति सार्वजनिक गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन्।
आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि करिब १८० सिट ल्याएर रास्वपाले दुई तिहाइ बहुमत नजिकको सरकार बनाएको छ। सुशासन र पारदर्शितालाई प्राथमिकता राखिने बताए पनि पछिल्लो समय सरकार विवादमा पर्दै आएको छ।
बालेन नेतृत्वको सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलव्धिका रुपमा समेटेको बताइएको छ।
मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानुन सुधार प्राथमिकतामा र सयभन्दा बढी कानुन संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनीलगायतलाई समेटेर सरकारले १०० दिने सूची सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ।
सुकुम्बासी समस्या, उद्योग, व्यवसायीमाथि धरपकड, सीमाबारे विवादास्पद अभिव्यक्ति, संसद् नटेर्ने गतिविधिलगायत कारण प्रधानमन्त्री शाह आलोचित बन्दै आएका छन्।