काठमाडौं। सुन्धारा क्षेत्रमा होटलमा बस्न आउने पाहुनाले अब पार्किङको झन्झट बेहोर्नु नपर्ने भएको छ। सुन्धारा होटल व्यवसायी संघ र सिभिल मल पार्किङ व्यवस्थापनबीच होटलका ग्राहकलाई निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने सम्झौता भएको हो।
सम्झौतामा सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कडेल र सिभिल मल पार्किङ व्यवस्थापनका अध्यक्ष सुरज तण्डुकारले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार संघअन्तर्गत आबद्ध सबै होटल तथा गेस्ट हाउसमा बस्ने ग्राहकले सिभिल मलको पार्किङ निःशुल्क प्रयोग गर्न पाउनेछन्।
संघले होटलमा आउने पाहुनाको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै यो व्यवस्था गरिएको जनाएको छ। यसबाट सुन्धारा क्षेत्रमा पार्किङ अभावका कारण देखिँदै आएको समस्या समाधान हुनुका साथै होटल व्यवसाय प्रति ग्राहकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
संघका अध्यक्ष देवीप्रसाद कडेलले सुन्धारा काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र भए पनि पार्किङ अभावले लामो समयदेखि होटल व्यवसाय प्रभावित हुँदै आएकोमा सिभिल मलसँगको सहकार्यले अब होटलमा आउने स्वदेशी तथा विदेशी पाहुनाले सहज रूपमा सवारी पार्किङ गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ।
संघका महासचिव विष्णु प्रसाद घिमिरेले ग्राहक मैत्री सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको बताए। उनले होटल व्यवसाय केवल राम्रो कोठा र सेवामा मात्र सीमित नभई पाहुनाको सम्पूर्ण अनुभवसँग जोडिएको उल्लेख गर्दै पार्किङ सुविधा पनि गुणस्तरीय सेवाको महत्त्वपूर्ण हिस्सा भएको धारणा राखे। ‘ग्राहकलाई सहजता दिन सकियो भने त्यसले होटलप्रतिको विश्वास बढाउँछ। यो सहकार्यले सुन्धारा क्षेत्रको होटल व्यवसायलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन सहयोग पुग्नेछ,’ उनले भने।
सिभिल मल पार्किङ व्यवस्थापनका अध्यक्ष सुरज तण्डुकारले स्थानीय व्यवसायीसँग सहकार्य गर्दै ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बताए। उनले पार्किङ सुविधा सहज हुँदा होटल व्यवसायसँगै समग्र व्यावसायिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
यस्तै, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले सम्झौताप्रति खुशी व्यक्त गर्दै यसलाई होटल व्यवसायमैत्री पहलको रूपमा व्याख्या गरे। उनले व्यवसायीबीचको सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै यस्तो अभ्यासले पर्यटन तथा होटल उद्योगलाई थप चलायमान बनाउन सहयोग गर्ने बताए।
बरालले होटल व्यवसायको दिगो विकासका लागि सेवा विस्तारसँगै व्यवसायीबीच आपसी सहकार्य आवश्यक रहेको धारणा राखे। ‘ग्राहकको सुविधा नै व्यवसायको सफलता हो। सुन्धारामा गरिएको यो पहल अन्य क्षेत्रका होटल व्यवसायीका लागि पनि अनुकरणीय बन्न सक्छ,’उनले भने।
व्यवसायीहरूका अनुसार पार्किङ समस्याका कारण होटल रोजाइमा असर पर्ने अवस्था अब कम हुने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाले सुन्धारा क्षेत्रका होटल तथा गेस्ट हाउसमा बस्ने पाहुनालाई सहज, सुरक्षित र निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउँदै समग्र व्यावसायिक वातावरणलाई थप अनुकूल बनाउने विश्वास गरिएको छ।