काठमाडौं। एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा चितवनको भरतपुरमा नयाँ ‘एलजी एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गरेको छ।
नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै विकसित गरिएको सिरिजअन्तर्गत ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ थिमसहित नयाँ उत्पादन शृंखला अनावरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीको छ।
यस शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा तयार गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन्।
नयाँ एलजी एसेन्सियल सिरिज डबल–डोर रेफ्रिजेरेटरमा फ्रोस्ट–फ्री प्रविधि समावेश गरिएको छ, जसले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउने कम्पनीको भनाइ छ। यसमा रहेको स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्नेछ । अघिल्ला मोडलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
एलजी एसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन नेपाली वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएको छ। यसमा प्रोशिल्ड मोटर, बीएमसी कभर, आईपीएक्स–४ प्रमाणित पानी प्रतिरोधी कन्ट्रोल प्यानल तथा लो–प्रेसर फिल प्रविधि समावेश गरिएको छ, जसले कम पानीको चापमा पनि प्रभावकारी धुलाइ सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
एलजी एसेन्सियल सिरिज रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको छ, जसले प्रभावकारी रूपमा चिस्यान र ताप दुवै सुविधा प्रदान गर्छ। परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ।
कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर सुरु भइसकेको छ। यसको प्रारम्भिक मोडलको मूल्य ४९ हजार ६९० बाट सुरु हुने कम्पनीले बताएको छ।