कठमाडौं। जेठ १५ को बजेट, नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति र आगामी मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकिए पनि सेयर बजारमा लगानीकर्ताको विश्वास अझै बढ्न सकेको छैन। गत साता पनि सेयर बजारले लगानीकर्तालाई विश्वासमा लिन सकेको थिए।
यो साताका अधिकांश कारोबार दिन सेयर बजार उकालो लाग्न सकेन। साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये दुई दिन बढेको सेयर बजार तीन दिन भने राताम्य हुन पुग्यो। गत साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से यस साता ०.१५ प्रतिशत अर्थात् ३.८९ अंक बढेर २६५३.४० बिन्दुमा बन्द भएको हो।
यस्तै, यो साता सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.६४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंक बढेका छन्। नेप्से सामान्य बढे पनि यो साता कारोबार रकम घटेको छ। गत साता दैनिक औसतमा ४ अर्ब २ लाखको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ३ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो।
नेप्सेका अनुसार गत साताको तुलनामा यो साताको दैनिक औसत कारोबार रकम ८.४४ प्रतिशत घटेको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण ०.५४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ४५ खर्ब ३४ अर्ब रहेको कुल बजार पुँजीकरण यो साता २४ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५९ अर्ब पुगेको छ।
यो साता १३ मध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। गत साता १४१६.२४ बिन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता १९.४९ अंक बढेर १४३५.७३ बिन्दुमा पुगेको छ।
नेप्सेका अनुसार यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ। गत साता १० हजार ६९७.९५ बिन्दुमा बन्द भएको उक्त उपसमूहको परिसूचक यो साता १.३५ प्रतिशत अर्थात १४४.५९ अंक घटेर १० हजार ५५३.३६ बिन्दुमा पुगेको छ।
यो साता ७ कम्पनीको ५ करोड ४० लाख ४४ हजार २४४.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। सुपर माई हाइड्रोपावर, नेको इन्स्योरेन्स, एनएमबी बैंक, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सानिगाड हाइड्रो र कालंगा हाइड्रोको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ।