काठमाडौं। पहिलो संस्करणको भव्य सफलतापछि आयोजना हुन लागेको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' को दोस्रो संस्करण विभिन्न अटो ब्रान्डको आकर्षणको केन्द्र बन्ने देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा सञ्चालन हुने यस एक्स्पोमा दर्जनौं नयाँ मोडलका सवारी साधन प्रदर्शन हुनेसाथै ब्रान्डहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
दोस्रो संस्करणको यो एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै छ। यस वर्षको एक्स्पो विगतको तुलनामा अझ बढी प्रिमियम र भव्य हुने आयोजकले जनाएका छन्। पहिलो संस्करणले अपेक्षाभन्दा राम्रो व्यापारिक सफलता हासिल गरेकै कारण नाइमाले दोस्रो संस्करण आयोजना गर्न लागेको हो। यसमा ५५ वटा ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुनेछन्।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार स्थापना भएको छोटो अवधिमै संस्था उल्लेखनीय रूपमा विस्तार भएको छ। "स्थापना भएको छोटो अवधिमै नाइमा उल्लेखनीय रूपमा विस्तार भएको छ," अध्यक्ष वैद्यले भनिन्, "गत वर्ष २१ सदस्य कम्पनीबाट यात्रा सुरु गरेको नाइमामा अहिले ३६ सदस्य कम्पनी आबद्ध भइसकेका छन्।"
एक्स्पोमा नयाँ मोटरसाइकल, स्कुटर, कार र कमर्सियल भेहिकलसँगै ब्याट्री, चार्जर र स्पेयर पार्टस जस्ता प्रोडक्ट पनि लन्च हुनेछन्।
पहिलो एक्स्पोमा लाखौं दर्शकको सहभागिता तथा उल्लेख्य सवारी बुकिङ र बिक्री भएका कारण एक्स्पोले नेपाली अटोमोबाइल क्षेत्रलाई नयाँ ऊर्जा दिएको उनको दाबी छ। यही सफलताका कारण दोस्रो संस्करणप्रति उद्योगी र व्यवसायीको चासो पनि उल्लेखनीय रूपमा बढेको उनले बताइन्। मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले यस क्षेत्रको विकास सरकारसँग प्रत्यक्ष रूपमा जोडिएको र नीति निर्माण, पूर्वाधार विकास तथा सहजीकरणमा सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।

एक्स्पोमा नयाँ मोटरसाइकल, स्कुटर, कार र कमर्सियल भेहिकलसँगै ब्याट्री, चार्जर र स्पेयर पार्टस जस्ता प्रोडक्ट पनि लन्च हुनेछन्। टिकटमा ५० प्रतिशतसम्म छुट, लर्निङ सेसन, फुड कोर्ट र पठाओमार्फत विशेष छुटमा सटल सेवा जस्ता व्यवस्था मिलाइएको नाइमाले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोका संयोजक गौरव शारडाका अनुसार दोस्रो संस्करण पहिलोको तुलनामा अझ ठूलो र भव्य हुनेछ। "गत वर्षको तुलनामा यसपटकको एक्स्पो अझ ठूलो, व्यवस्थित र प्रिमियम स्तरको हुनेछ," उनले भने, "वर्षाका कारण गत वर्ष देखिएका आवतजावतका समस्या समाधान गर्न हलदेखि हलसम्म सहज रूपमा आवतजावत गर्न मिल्ने व्यवस्था गरिनेछ।" सवारी पार्किङका लागि यस वर्ष पनि नेपाल प्रहरी क्लब परिसरमा दिनभरि पार्किङ सुविधा उपलब्ध गराइने शारडाले जानकारी दिए। लर्निङ सेसनहरूमा केवल अटोमोबाइल र प्रविधिमा मात्र सीमित नरही, भविष्यमा यो क्षेत्र कुन दिशातर्फ अघि बढ्दैछ भन्नेबारे विज्ञहरूसँग छलफल गरिने उनले बताए।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा यो एक्स्पोले उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिने, कम्पनीहरूलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने र नीति निर्मातालाई उद्योगको अवस्था बुझ्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको बताउँदै यस्ता प्रदर्शनीले व्यावसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। नाइमाले यो एक्स्पोलाई केवल सवारी प्रदर्शनीमा मात्र सीमित नराखी नेपालमा विकसित हुँदै गएको आधुनिक यातायात प्रणाली, हरित ऊर्जा र दिगो मोबिलिटीको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजेको पनि उनले जनाए।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी जम्मा ५५ ब्रान्डको सहभागिता रहनेछ।
नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ तीव्र रूपमा उन्मुख भइरहेका बेला यो दोस्रो नाइमा मोबिलिटी एक्स्पोलाई नयाँ प्रविधि, नवीन उत्पादन र बजार प्रतिस्पर्धाको सबैभन्दा ठूलो मञ्चका रूपमा हेरिएको छ। एउटै स्थानमा दर्जनौं नयाँ मोडलको सार्वजनिक प्रदर्शन, विभिन्न ब्रान्डबीचको प्रतिस्पर्धा तथा उपभोक्तामैत्री अफरका कारण यस वर्षको एक्स्पो अटोमोबाइल उद्योगका लागि मात्र होइन, सवारी खरिदको योजना बनाइरहेका उपभोक्ताका लागि पनि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
दोस्रो संस्करणमा सहभागी हुने ब्रान्डहरू
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी जम्मा ५५ ब्रान्डको सहभागिता रहनेछ। यसमध्ये चारपाङ्ग्रेतर्फ २६ ब्रान्ड, दुईपाङ्ग्रेतर्फ १८ ब्रान्ड र कमर्सियलतर्फ ४ ब्रान्डको सहभागिता रहने आयोजकले जनाएका छन्।

चारपाङ्ग्रेमा टाटा, आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, एमजी (पारामाउन्ट मोटर्स), निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा/जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस्, एमजी (गो अटोमोबाइल), होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ र जिकर सहभागी हुनेछन्।
दुई पाङ्ग्रेमा एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एण्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभोइलेट, याडिया र जेडएक्स मोटो सहभागी हुनेछन् भने लाइट कमर्सियलतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ ब्रान्डको सहभागिता रहनेछ।