काठमाडौं। नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रुपमा रहेको एसियाली विकास बैंक (एडीबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ। यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नोे सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ।
नेपालको दुई दिने भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्डाले भने, ‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रुपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ, सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा छ।’
नेपालका लागि एडीबीको देशीय साझेदारी रणनीति २०२५/०२९ अन्तर्गत उक्त रकम उपलब्ध गराइने छ। यस सहयोगले रोजगारी सृजना, निजी क्षेत्र विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशीलता, महिला तथा पछाडि पारिएका र जोखिममा रहेका समूहहरूको सशक्तीकरण तथा डिजिटल रुपान्तरणलाई प्राथमिकता दिनेछ। साथै सह–वित्तीय तथा हरित र स्थानीय मुद्रामा जारी गरिने बन्डजस्ता नवीन वित्तीय साधनमार्फत थप स्रोत परिचालन गरिने बताइएको छ।
उनको नेपाल भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धताको हिस्साका रुपमा कुल १६५ मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर गरेको एडीबीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसमध्ये ११५ मिलियन अमेरिकी डलरको परियोजनामार्फत आठ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो तथा सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराइने छ। त्यस्तै, ५० मिलियन अमेरिकी डलरको नीतिगत ऋणमार्फत नेपालको सीमा नाकामार्फत वस्तु आवागमन प्रणालीलाई आधुनिकीकरण गरिने छ।
यसले व्यवसायहरूको लागत घटाउन, कार्य क्षमता बढाउन तथा डिजिटलीकरण र सरलीकृत प्रक्रियामार्फत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताइएको छ। त्यस्तै यस वर्ष एडीबीको वार्षिक ऋण सहयोग ६६० मिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ।
एडीबीका अध्यक्ष मासातो कान्डाले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। एडिबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा भएको उक्त भेटमा नेपालको आर्थिक रुपान्तरण, रोजगारी सृजना तथा लगानी प्रवर्द्धनका लागि एडीबीको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
सोही अवसरमा अध्यक्ष कान्डाले एडीबीको सहयोगमा सञ्चालित परियोजनाको स्थलगत अवलोकन गर्दै एडीबीको सहयोगको प्रभाव प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ तथा नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योससँग मिलेर काठमाडौंमा विद्युत् आपूर्ति सुदृढ गर्न सहयोग गर्ने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गरेका थिए।
त्यसपछि शिक्षामन्त्री तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै अध्यक्ष कान्डाले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालयको भ्रमण गरेका थिए। यो परियोजना विपद् जोखिम व्यवस्थापन तथा मानव पूँजी विकासमा एडीबीको लगानीको हिस्सा हो।
त्यस्तै, सोमबार अध्यक्ष काण्डा र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीचको भेटमा व्यावसायिक वातावरण सुधार, लगानी परिचालन तथा सरकारका आर्थिक वृद्धि र उत्थानशीलतासम्बन्धी प्राथमिकतामा एडीबीको सहयोगसम्बन्धी छलफल भएको थियो। अध्यक्ष कान्डाले निजी क्षेत्रका प्रमुख नेतृत्वकर्तासँग पनि भेटवार्ता गर्दै नेपालमा लगानी, निजी क्षेत्र विकास तथा रोजगारी सृजनामा रहेका अवसर र चुनौतीहरूबारे विचार आदानप्रदान गरेका थिए।
एडीबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी तथा उत्थानशील आर्थिक वृद्धिलाई समर्थन गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो। आफ्ना सदस्य राष्ट्रहरू र साझेदारसँग मिलेर जटिल चुनौतीहरूको समाधान खोज्दै एडीबीले नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारीको उपयोगमार्फत जनजीवन रुपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण तथा पृथ्वीको संरक्षणमा योगदान पुर्याउँदै आएको छ।