काठमाडौं । सरकारले बन्दबन्दी (लकडाउन) खुकुलो बनाएपछि निजी सवारीसाधन सञ्चालन, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, कर्पोरेट हाउस सबै खुलेका छन् । लकडाउन खुकुलो भएपछि आर्थिक गतिविधि बढेको छ । तर, १५ लाख बढीको लगानी रहेको सेयर बजार सरकारले कारणविनै बन्द गराइएको छ ।
यसअघि आइतबार सेयर बजार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले तयारी गरेको थियो । नेप्सेले सरकारबाट निर्देशन आएको भन्दै शनिबार सूचना प्रकाशित गरी सेयर कारोबार अनिश्चितकालका लागि स्थगन गरेको जानकारी गरायो । नेप्सेले सरकारको कारणले बजार बन्द गराएको स्पष्टपारेको छ ।
लकडाउन खुकुलो भएको अवस्थामा सेयर बजार बन्द गर्नुपर्ने कुनै कारण थिएन । भारतलगायत अन्य विकशित मुलुकमा लकडाउनका बीचमा सेयर कारोबार भएका छन । लकडाउनकै बीचमा डलर अर्बपति मुकेश अम्बानीको सम्पत्ति बढेर उनी विश्वको १० औं धनीमा सुचिकृत भएका छन ।
उनको कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड भारतमा सबैभन्दा मूल्यवान कम्पनी भएको छ । रिलायन्सको बजार भाउ झण्डै दोब्बर बढेर १ खर्ब ५० अर्ब डलर पुगेको छ । लकडाउनका बीचमा भारतका सेयर वादशाह राकेश झुनझुनवालाले गुमाएका छन । तर पनि त्यहाँ सेयर कारोबार जारी छ ।
नेपालमा पनि अनलाइन सेयर कारोबार सुरु भइसकेको छ । भौतिक रुपमा उपस्थिति नभइ सेयर कारोबार गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले पुनः बन्द गरेको आरोप लगानीकर्ताको छ ।
अर्थमन्त्रीले सेयर बजार बन्द गराउनु एउटै मात्र कारण छ, त्यो हो खुलेपछि सेयरको मूल्य घट्छ र यसको सबै दोष आफैमाथि आउँछ । अर्थमन्त्री खतिवडालाई लगानीकर्ताहरुले सेयर बजार विरोधी भन्दै आएका छन । उनको राजीनामा माग्दै लगानीकर्ताले अनसनसमेत बसिसकेका छन ।
यता अर्थमन्त्री खतिवडाको पद धरापमा छ । आउँदो भदौसम्म राष्ट्रियसभामा मनोनित नभए उनी स्वतः पदमुक्त हुने छन । राष्ट्रियसभामा मनोनित र अर्थमन्त्री भइरहन उनले अहिले बजार बन्द गर्ने रणनीति लिएको हुन सक्ने लगानीकर्ताहरुको बुझाइ छ ।
अहिले बजार खुलाउँदा घट्ने र यसको सबै अपजस आफुलाई आउने भएकाले सेयर बजार रोक्न चाहन्छन् उनी । सेयर बजार बन्द गर्ने अर्थमन्त्री खतिवडाको अभियानलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङानाले पनि साथ दिएका छन । उनी अहिले खुलेर बजार बन्द गराउन लागिपरेकाे आरोप लगानीकर्ताको छ ।
उनले सेयर, धितो कर्जा (मार्जिन लेन्डिङ) सीमा बढाए मात्र बजार खुल्ने अडान लिएको बुझिएको छ । ‘मार्जिन लेन्डिङ’ सीमा बढाउने वा घटाउने अधिकार नेपाल राष्ट्र बैंकको हो । आवश्यकता हेरेर राष्ट्र बैंकले निर्णय लिने गरेको छ । सेयर बजार खुलाउने विषयमा बोर्डका अध्यक्ष ढुङ्गाना र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो ।
अध्यक्ष ढुङ्गानाले मार्जिन लेन्डिङको सीमा नबढाए बजार खोल्न नसकिने जानकारी गभर्नर अधिकारीलाई गराएको स्रोतको भनाई छ । गभर्नर अधिकारीले यो निर्णय गर्ने अधिकार राष्ट्र बैंकको भएकाले बढाउने/घटाउने निर्णय मौद्रिक नीतिमा व्यवस्था हुने जानकारी गराएको स्रोतले जानकारी दियो ।
यसबाट पनि बोर्डका अध्यक्ष ढुङ्गाना पनि बजार बन्द गर्न लागि परेको स्पष्ट हुन्छ । लाखाैं सर्वसाधारणको खर्बौ रुपैयाँ लगानी रहेको सेयर बजारलाई अर्थमन्त्री खतिवडा र बोर्डका अध्यक्ष ढुङ्गानाले बन्धक बनाएका छन, त्यो पनि पद जोगाउनका लागि । लकडाउनका बीचमा सेयर बजार २ दिन काराेबार भएकाे छ । अहिले नेप्से परिसूचक १ हजार २०१ अंकमा छ । अहिले बजार खुले सेयर बजारमा भारी गिरवाट आउने डर लगानीकर्तामा छ ।
बोर्डका प्रवक्ता निरज गिरी बजार खोल्ने विषयमा छलफल भइरहेको बताउँछन । उनले बजार खुलाउने तयारी भएको बताए पनि बोर्डका अध्यक्ष ढुङाना तयार छैनन । बन्द गर्नका लागि बहाना खोजिरहेका छन ।
अहिलेको अवस्थामा अर्थमन्त्री खतिवडा जोखिममा छन । पार्टीभित्रको समीकरणका कारण उनी राष्ट्रियसभामा जान प्रतिकुल अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि उनी राष्ट्रियसभामा मनोनित हुने अवस्था छैन । यस्तै पार्टीको घोषणापत्र विपरित बजेट ल्याएको भन्दै कार्यकर्तामा असन्तुष्ठि छ । यो पटक उनले ल्याएको बजेटको बढी विरोध भएको छ ।
यसअघि यति विरोध भएको थिएन् । उनको कार्य सम्पादन माथि प्रश्न उठेका बेला सेयर बजार खोलेर झनै घट्यो भने यसको अपजस आफुमा आउनेमा उनी सचेत छन । यस कारण पनि राष्ट्रियसभामा मनोनित भएर पुनः अर्थमन्त्री हुने सम्भावना नरहन पनि सक्छ ।
‘फेरी लकडाउन कडा भयो भने बन्द गर्नुपर्ने अवस्था पनि आउने भएकाले अहिले ढिलो होस् तर, बन्द नहुने गरी खोल्ने काम भइरहेको छ’ प्रवत्ता गिरी भन्छन । बजार खोल्नुपर्छ, ढिलाइ गनुनुहने बताउँदै उनले नेप्से ब्रोकर र लगानीकर्तालाई छलफल गरेर सकेसम्म अर्को हप्ता खोल्ने उनको भनाई छ । पछिल्लो समयमा बजार खोल्न सबैजना डराएको उनको भनाई छ ।
बजार खोल्न कुनै ढिला गर्नु नहुने सेयर लगानीकर्ता प्रकाश तिवारी बताउँछन । उनले घट्छ भनेर बजार बन्द गर्नु नहुने बताउँछन । ‘सबै बजार खुलिसक्यो सेयर बजार मात्र किन बन्द?’उनले प्रश्न गरे । अहिले बजार बन्द गर्नुपर्ने कुनै कारण नभएको लगानीकर्ता तिवारीको तर्क छ ।