काठमाडौं। नेपाल–भारतबीच उद्यमशीलता र नवप्रवर्तन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको इन–स्पान उत्कृष्टता केन्द्रले आफ्नो पहिलो बैठक सम्पन्न गर्दै नौ सदस्यीय कार्यकारी समिति गठन गरेको छ। केन्द्रले औपचारिक रूपमा संस्थागत संरचना स्थापना गर्दै आगामी तीन वर्षका लागि कार्यदिशासमेत तय गरेको जनाएको छ।
नेपाल–भारत उद्योग वाणिज्य संघ, काठमाडौंस्थित भारतीय दूतावास तथा भारतीय प्रविधि संस्थान मद्राससँग सम्बद्ध प्रवर्द्धन संस्थाको संयुक्त पहलमा स्थापना भएको केन्द्रले नेपाली युवालाई उद्यमशीलता, नवप्रवर्तन र व्यवसाय प्रवर्द्धनका अवसरसँग जोड्ने लक्ष्य लिएको छ।
केन्द्रको अध्यक्षमा आसिम श्रेष्ठ, उपाध्यक्षमा प्रवीण भट्टराई, महासचिवमा श्रेयाञ्च श्रेष्ठ, सहमहासचिवमा ऋतिक बाबु श्रेष्ठ तथा कोषाध्यक्षमा प्रदीप गिरी चयन भएका छन्। साथै मोहन तामाङ, विष्णुकुमार अग्रवाल, निकेश सिंह र सुनील केसी कार्यकारी सदस्य रहेका छन्।
बैठकले आगामी तीन वर्षका लागि पाँच प्रमुख कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। तीमध्ये काठमाडौं उपत्यकामा नवउद्यम केन्द्र स्थापना, उद्यमीका लागि नियमित क्षमता अभिवृद्धि तालिम, मासिक अन्तरक्रिया कार्यक्रम, नवउद्यम सहायता सेवा तथा नेपाल–भारत नवउद्यम सम्मेलन आयोजना प्रमुख रहेका छन्।
केन्द्रले यसै महिनाको अन्त्यतिर पहिलो सार्वजनिक कार्यक्रमका रूपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ। साथै प्रविधि, शिक्षा र अनुसन्धान क्षेत्रसँग सहकार्य विस्तार गरी नेपालमा दिगो र सक्षम नवउद्यम वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव सुमन शेखर तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसीले केन्द्रको स्थापना नेपाल–भारतबीच नवप्रवर्तन र उद्यमशीलता सहकार्यलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन्।