काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा उनले नेपालको निर्यात व्यापारको प्रवर्द्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका हुन्।
प्रधानमन्त्री शाहले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिएका थिए।
त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत् विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवर्द्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा इपानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता लगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।
साथै प्रधानमन्त्री शाहसँग लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि आवश्यक छलफल भएको थियो। त्यस छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थित थिए। त्यसैगरी छलफलमा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिता रहेको थियो।