काठमाडौं। २० प्रतिशत इथानोल मिश्रित पेट्रोल ९ई–२०० को प्रयोगबाट केही सवारीसाधनमा इन्धन दक्षता ३ देखि ५ प्रतिशतसम्म घट्न सक्ने भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जनाएको छ।
शुक्रबार सार्वजनिक गरिएको प्रश्नोत्तर दस्ताबेजमा मन्त्रालयले ई–२० पेट्रोलको प्रयोगले इन्धन खपतमा केही प्रभाव पार्न सक्ने स्वीकार गरेको छ। तर, उच्च गुणस्तरीय दहन, इन्जिनको कार्यक्षमता सुधार, कार्बन उत्सर्जनमा कमी तथा सवारी सञ्चालनको सहजताजस्ता लाभले उक्त कमीको क्षतिपूर्ति हुने दाबी गरेको छ।
मन्त्रालयका अनुसार ई–२० पेट्रोलमा उच्च गुणस्तरीय इन्धन क्षमता रहने, इन्जिनमा हुने अनियन्त्रित विस्फोटको सम्भावना कम हुने, दहन प्रक्रिया प्रभावकारी बन्ने तथा सवारीको तान्ने शक्ति र गति नियन्त्रणमा सुधार आउने लाभ छन्। साथै, इन्जिन सफा रहनुका साथै वातावरणमा उत्सर्जित कार्बनको मात्रा पनि घट्ने उल्लेख गरिएको छ।
इथानोल मिश्रित पेट्रोल कार्यक्रमबारे उठेका आलोचना र जिज्ञासाको जवाफ दिन मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरेको हो। दस्ताबेजमा ई–२० लाई ई–१० वा शुद्ध पेट्रोलको तुलनामा बढी स्वच्छ र गुणस्तरीय इन्धनका रूपमा व्याख्या गरिएको छ।
मन्त्रालयले ई–२० लागू गर्नुअघि वर्षौंसम्म वैज्ञानिक परीक्षण गरिएको, सवारी उत्पादक कम्पनीहरूसँग व्यापक परामर्श गरिएको तथा देशभित्र इथानोल उत्पादन क्षमता विस्तार गरिएको जनाएको छ।
कार्यक्रम अत्यधिक हतारमा लागू गरिएको भन्ने आरोपलाई अस्वीकार गर्दै मन्त्रालयले भारतमा इथानोल मिश्रण कार्यक्रमको सुरुआत सन् २००१ मा परीक्षण परियोजनामार्फत भएको र सन् २००६ सम्म देशका केही क्षेत्रमा ५ प्रतिशत इथानोल मिश्रित पेट्रोलको प्रयोग सुरु भइसकेको जनाएको छ।