काठमाडौं।नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। चेम्बर भवन जमलमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई जोड्ने साझा इकोसिस्टम निर्माण गर्नेछन्। सहकार्यबाट व्यावसायिक सीप अभिवृद्धि, उद्यमशीलता विकास, कार्यगत शिक्षा, उद्योग–शैक्षिक सहकार्य, स्टार्टअप इन्क्युबेसन तथा एक्सेलेरेशन, नेतृत्व विकास, लगानी प्रवर्द्धन तथा अनुसन्धान एवं ज्ञान आदान–प्रदानका विविध कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सम्झौताअन्तर्गत उद्यमी, व्यवसायी, साना तथा मझौला उद्योग (एसएमई÷एमएसएमई), चेम्बरका सदस्य तथा पेसागत क्षेत्रका लागि नेतृत्व विकास, डिजिटल रुपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय व्यवस्थापन, आपूर्ति शृंखला, अन्तर्राष्ट्रिय व्यापार तथा वातावरणीय, सामाजिक एवं सुशासनलगायतका विषयमा विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।
स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन मार्गदर्शन, लगानीकर्ता सम्मेलन, व्यापार संवाद, नीतिगत अनुसन्धान तथा भविष्यमुखी शैक्षिक कार्यक्रममा समेत सहकार्य गरिनेछ।
समझदारीपत्रमा चेम्बरका स्टार्टअप तथा इनोभेसन समिति सभापति एवं कार्यसमिति सदस्य पंकज जालान तथा बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले हस्ताक्षर गरे। सम्झौता पाँच वर्षसम्म लागू रहनेछ र आपसी सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था छ।
सो अवसरमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध समयसँगै अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै शिक्षा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा भएको यो सहकार्यले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले एआईले मानव प्रतिभालाई प्रतिस्थापन गर्नेभन्दा पनि उत्पादकत्व, निर्णय क्षमता, नवप्रवर्तन र व्यवसाय विस्तारमा सहयोगी उपकरणका रूपमा काम गर्ने बताए।
कार्यक्रममा बेनेट विश्वविद्यालयकातर्फबाट अन्तराष्ट्रिय बजार एभिपी सुुधीरकुमार पाण्डेले धारणा राख्दै यस समझदारीले ज्ञान, प्रविधि, अनुसन्धान, लगानी तथा उद्यमशीलताको आदान–प्रदानलाई थप सुदृढ बनाउँदै स्टार्टअप इकोसिस्टम, युवा उद्यमशीलता, रोजगारी सिर्जना, औद्योगिक प्रतिस्पर्धात्मकता तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।