काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्स नेपालले एक वर्षमै सवा ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। इक्रा नेपालले हालै सार्वजनिक गरेको रेटिङ प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०२५ मा कम्पनीले कुल ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार (कन्सोलिडेटेड आधारमा) गरेको हो।
नेपालको नुडल्स बजारमा स्थापित ब्रान्ड 'वाइवाइ'को उत्पादन र बिक्री गर्दै आएको यस कम्पनीले पछिल्ला तीन वर्षमा मात्रै साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ। कम्पनीको एकीकृत वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२३ मा कम्पनीले हालसम्मकै उच्च १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने आर्थिक वर्ष २०२४ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
पछिल्ला दुई वर्षमा वार्षिक आम्दानीमा केही गिरावट आए पनि चालू आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले (स्ट्यान्डअलोन आधारमा) ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ। नयाँ उत्पादनको विस्तार र निर्यातमा आएको सुधारका कारण चालू वर्षको अन्त्यसम्ममा कारोबार थप बढ्ने प्रक्षेपण गरिएको छ।
कम्पनीको कुल कारोबारमा वाइवाइ नुडल्सको हिस्सा सबैभन्दा ठुलो रहेको छ। चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक अनुसार, कम्पनीको आम्दानीमा नुडल्स खण्डको योगदान ७४ प्रतिशत छ। नुडल्सबाहेक कम्पनीले 'रियो' ब्रान्डमा फ्रुट जुस तथा 'क्विग्स' ब्रान्डमा चिज बल, चिप्स र अन्य स्न्याक्स उत्पादन गर्दै आएको छ। पेय पदार्थ र स्न्याक्स खण्डबाट हुने आम्दानी पनि क्रमशः बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।
इक्रा नेपालले कम्पनीलाई ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमाका लागि प्रदान गरिएको 'ए वान' रेटिङलाई पुनः पुष्टि गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता अत्यन्तै बलियो रहेको संकेत गर्छ।
कम्पनीका वित्तीय सूचकहरू पनि निकै मजबुत देखिन्छन्। सिजी फुड्सको ऋण र पुँजीको अनुपात मात्र ०.२ गुणा रहेकाले कम्पनीमा ऋणभार न्यून र आफ्नै पुँजी परिचालन बढी रहेको देखिन्छ। त्यसैगरी, कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १५.१ गुणा रहेको छ, जुन उद्योगकै उत्कृष्टमध्ये मानिन्छ।
व्यापार उत्साहजनक रहे पनि बजारमा बढ्दो प्रतिस्पर्धा कम्पनीका लागि प्रमुख चुनौती बनेको छ। विशेषतः 'स्पाइसी' (पिरो) नुडल्सका नयाँ भेरियन्टहरूले बजारमा वाइवाइको हिस्सालाई चुनौती दिइरहेका छन्। साथै, अन्तर्राष्ट्रिय बजारमा पाम आयल र गहुँजस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको सञ्चालन नाफामा असर पार्ने गरेको छ।
प्रतिवेदन अनुसार, कम्पनीको सञ्चालन नाफा आर्थिक वर्ष २०२४ मा १२.१ प्रतिशत रहेकोमा २०२५ मा घटेर ६.६ प्रतिशतमा झरेको थियो। तर सन् २०२६ को नौ महिनामा यो पुनः सुधारिएर ११.२ प्रतिशत पुगेको छ। सिजी फुड्सले आफ्नो कमाइको ठुलो हिस्सा लाभांशका रूपमा वितरण गर्दै आएको छ। तथ्यांक अनुसार, आर्थिक वर्ष २०२५ मा कम्पनीले खुद नाफाको ९२ प्रतिशत र चालू वर्षको नौ महिनामा झन्डै शतप्रतिशत लाभांश वितरण गरिसकेको छ। यसरी उच्च दरमा लाभांश वितरण गर्दा कम्पनीको तरलता र भविष्यको पुँजीगत खर्चमा पर्न सक्ने प्रभावलाई इक्राले नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
सन् १९८४ देखि सञ्चालनमा रहेको यो कम्पनी सन् २०२३ मा प्राइभेटबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। यसमा निर्वाण चौधरीको ७६ प्रतिशत र अन्य सदस्यको बाँकी सेयर स्वामित्व रहेको छ। चौधरी ग्रुपको बलियो व्यवस्थापन र वाइवाइको स्थापित ब्रान्ड भ्यालु नै सिजी फुड्सको सफलताको मुख्य आधार रहेको इक्राको निष्कर्ष छ।