काठमाडौं। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै (चैत, वैशाख र जेठ) तीन महिनामै पेट्रोलियम आयात ह्वात्तै घटेको छ। पछिल्लो ३ महिनामा मात्रै पेट्रोल र डिजेल आयात ६ करोड ९० लाख २४ हजार लिटरले घटेको नेपाल आयल निगमको तथ्यांकमा उल्लेख छ।
इन्धन खपत र आयातमा आएको गिरावटले करिब १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको छ। बालेन सरकारको यो कदमले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पारेको छ। इन्धन खपत घटाउन सरकारले गत चैत २२ गते हप्तामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यद्यपि, सरकारले यसबारे हालसम्म कुनै अध्ययन गरेको आँकडा सार्वजनिक भएको छैन।
पेट्रोलबाट चल्ने आईसीई गाडीको सट्टा विद्युतीय गाडी (ईभी)आयात दौडिँदा पनि इन्धन खपत कम भएको सरकारको बुझाइ छ।
यसबीचमा नियमविपरीत तथा दोहोरो सुविधा भोग गरिरहेका कर्मचारी, पदाधिकारी तथा पूर्वविशिष्ट व्यक्तिबाट झन्डै ७ सय सरकारी सवारी साधन फिर्ता गराएको थियो। यसले पनि इन्धन खपट घटाउन सघाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताए। सरकारले विभिन्न ७ वटा शीर्षकमा इन्धनमा कर उठाउने गरेको छ।
तीन महिने अवधिमा पेट्रोलको आयात २ करोड ६२ लाख ७२ हजार लिटरले घटेको छ भने डिजेल आयात ४ करोड २७ लाख ५२ हजार लिटरले घटेको छ। गत चैतमा पेट्रोल आयात ८६ लाख ३५ हजार लिटरले घटेर खुद्रा बजार मूल्य अनुसार १ अर्ब ८९ करोड १० लाख रुपैयाँ (विदेशी मुद्रातर्फ १ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ) जोगिएको थियो।
चैत अन्तिम साता मात्रै बिदा लागू भएका कारण डिजेल खपत घट्न सकेन, बरु आयात १५ लाख ८७ हजार लिटरले बढ्दा खुद्रा मूल्यमा ३२ करोड ८५ लाख रुपैयाँ अतिरिक्त खर्च हुन पुग्यो। चैतको खुद बजार मूल्य बचत १ अर्ब ५६ करोड २५ लाख रुपैयाँमा सीमित रह्यो।
वैशाखमा पेट्रोल आयात ९४ लाख ९३ हजार लिटरले घटेर बजार मूल्यअनुसार २ अर्ब ७ करोड रुपैयाँ (विदेशी मुद्रातर्फ १ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ) जोगिएको छ।
डिजेल आयातमा ३ करोड ६३ लाख ७१ हजार लिटरको ऐतिहासिक गिरावट आउँदा बजार मूल्य अनुसार ७ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ (विदेशी मुद्रातर्फ ५ अर्ब १८ करोड २५ लाख रुपैयाँ) जोगिएको निगमको तथ्यांक छ।
जेठमा पेट्रोल आयात ८१ लाख ४४ हजार लिटरले घटेर बजारमूल्यअनुसार १ अर्ब ७८ करोड रुपैयाँ (विदेशी मुद्रातर्फ १ अर्ब २५ करोड २३ लाख) र डिजेल आयात ७९ लाख ६८ हजार लिटरले घटेर बजार मूल्यअनुसार १ अर्ब ६४ करोड रुपैयाँ (विदेशी मुद्रातर्फ १ अर्ब १३ करोड ५३ लाख रुपैयाँ) जोगिएको हो।