काठमाडौँ। इरानले हर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको जनाएको छ। जलडमरूमध्य हुँदै गइरहेको एक व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेपछि कारबाही तीव्र बनाइएको अमेरिकी पक्षको दाबी छ।
इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी)ले अर्को सूचना जारी नभएसम्म हर्मुज जलडमरूमध्य बन्द रहने जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सम्बन्धित जहाजले आफ्नो पहिचान प्रणाली बन्द गरी स्वीकृत समुद्री मार्ग छाडेपछि त्यसलाई रोक्न कारबाही गरिएको थियो।
अमेरिकी केन्द्रीय सैन्य कमान्ड (सेन्टकम)ले यस साताभित्र इरानविरुद्ध तेस्रो चरणको आक्रमण सञ्चालन गरिएको जनाएको छ। सेन्टकमका अनुसार साइप्रसको झण्डा बोकेको एक जहाजमाथि इरानी बलले आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो।
अमेरिकी पक्षका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ र जहाजले यात्रा जारी राख्न सकेन। घटनामा चालक दलका एक सदस्य बेपत्ता भएका छन्।
यसअघि पनि ओमानी समुद्री क्षेत्र हुँदै यात्रा गरिरहेका तीन वटा व्यापारिक तेलवाहक जहाजमाथि आक्रमण भएको थियो। त्यसपछि अमेरिका र इरानबीच प्रतिआक्रमणको श्रृङ्खला सुरु भएको थियो।
इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने मार्गलाई मात्र सुरक्षित भन्दै आएको छ। इरानी पक्षले जलडमरूमध्य बन्द गर्ने निर्णयका कारण कुनै बाह्य सैन्य हस्तक्षेप भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ।
इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका छन्। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथि आक्रमण गरेको जनाएको छ।
बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणपछि युद्धविराम समाप्त भएको बताएका छन्। यद्यपि उनले वार्ता प्रक्रिया जारी रहने र मध्यस्थकर्ताहरूले समाधानको प्रयास गरिरहेको उल्लेख गरेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकामाथि सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले व्यापारिक जहाजमाथिको आक्रमण अनपेक्षित रूपमा भएको र त्यसमा आन्तरिक रूपमा नियन्त्रणबाहिर रहेको समूहको संलग्नता रहेको जानकारी अमेरिकी अधिकारीहरूलाई दिएको छ।
विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्य बन्द भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप दबाब पर्ने अनुमान गरिएको छ।