काठमाडौं। चीनमा एक साताभित्र दोस्रो शक्तिशाली समुद्री आँधी प्रवेश गरेको छ। आँधीको प्रभाव क्षेत्रभित्र पर्ने स्थानहरूबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
करिब एक हजार किलोमिटर चौडाइमा फैलिएको उक्त आँधी शनिबार साँझ चीनको तटीय सहर ताइचोउमा प्रवेश गरेको थियो। त्यसपछि मध्यराततिर वेनचोउ क्षेत्रमा पुनः स्थलगत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि जापानका दुर्गम टापुहरूमा क्षति पुर्याउँदै गएको आँधीले ताइवानको उत्तरी क्षेत्रमा समेत भारी वर्षा गराएको थियो। आँधीका कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
आँधीको तीव्रता केही कमजोर भई गम्भीर उष्णकटिबन्धीय वर्षात्मक प्रणालीमा रूपान्तरण भए पनि यसले बोकेको अत्यधिक जलवाष्पका कारण ठूलो वर्षा र बाढीको जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन्। चीनका पूर्वी झेजियाङ र उत्तरपूर्वी फुजियान प्रदेशमा आइतबार अत्यन्तै भारी वर्षा हुने अनुमान गरिएको छ। सम्भावित ठूलो क्षतिबाट जोगिन पूर्वसावधानीस्वरूप व्यापक रूपमा मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
राज्य सञ्चार माध्यमका अनुसार झेजियाङ प्रदेशबाट मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रदेशहरूबाट पनि हजारौँ नागरिकलाई स्थानान्तरण गरिएको छ। झेजियाङमा विद्यालय, कार्यालय तथा बाहिरी गतिविधि स्थगित गरिएका छन्। साथै सयौँ हवाई उडान र दर्जनौँ रेल सेवा रद्द गरिएका छन्। करिब एक करोड जनसङ्ख्या रहेको वेनचोउ सहर आँधीको सम्भावित मार्ग नजिक परेकाले त्यहाँबाट पनि लाखौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
राजधानी बेइजिङ क्षेत्रमा समेत जोखिम न्यूनीकरणका लागि एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको अधिकारीहरूले बताएका छन्। उक्त आँधी प्रारम्भमा अति शक्तिशाली समुद्री आँधीका रूपमा विकसित भएको थियो। गत सोमबार यसले गुआम तथा उत्तरी मरियाना टापुहरूमा प्रतिघण्टा २९० किलोमिटर वेगको हावासहित ठूलो प्रभाव पारेको थियो।
प्रशान्त महासागर हुँदै अघि बढ्दै जाँदा यसको गति घटेर प्रतिघण्टा १४४ किलोमिटरमा झरेको थियो। त्यस क्रममा जापानको रियुक्यु द्वीपसमूहअन्तर्गत पर्ने साकिशिमा टापुहरू प्रभावित भएका थिए। त्यहाँ कम्तीमा पाँच जना घाइते भएका छन् भने हजारौँ घरधुरी विद्युत् सेवाविहीन बनेका छन्। ताइवानमा आँधी प्रत्यक्ष रूपमा प्रवेश नगरे पनि भारी वर्षाका कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्। पहिरोको जोखिम बढेपछि सतर्कता अपनाइएको छ। जापान र ताइवान दुवैले हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन्।
ताइवानी अधिकारीहरूले केही स्थानमा एक मिटरभन्दा बढी वर्षा हुन सक्ने चेतावनी दिएका थिए। क्षेत्रभरका दर्जनौँ हवाई उडान रद्द गरिएका छन् भने विद्यालयहरू बन्द गरिएका छन्। सम्भावित विपद्को तयारीस्वरूप स्थानीय बासिन्दाले खाद्यान्न तथा अत्यावश्यक सामग्री सञ्चित गर्न थालेपछि बजारका धेरै पसलका सामग्री सकिएका छन्।