काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा विदेशी रणनीतिक साझेदार भित्राउनु पर्ने बताएका छन । उनले सेयर बजारको दीगो विकास र संरचनात्मक सुधारका लागि नेप्सेमा विदेशी साझेदार आवश्यक भएको औल्याए ।
पुँजी बजारको दिगो विकासका लागि धितोपत्र बोर्ड, नेप्से र सिडिएस क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गर्नुपर्ने उनको जोड छ । संघीय संसदको अर्थ समितिका सदस्यहरुसंग सोमबार राजधानीमा अन्तरक्रिया गर्दे उनले धितोपत्र बजार र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
उनले विदेशी पुँजी परिचालन र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालन गर्न कोष व्यवस्थापकलाई अनुमति दिन लागेको जानकारी दिए । यस्तै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने उनले बताए ।
सो अवसरमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजीबजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।
उनले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएता पनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताए । आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्रयाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्रयाई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि मार्गनिर्देश गरेका थिए ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए ।