काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारप्रति सत्तारुढ दलकै सांसदको असन्तुष्टि बढेको देखिएको छ। आजको प्रतिनिधिसभाा बैठकमा भाग लिने सत्तारुढ रास्वपा सांसद अमरेशकुमार सिंह र रीमा विश्वकर्माले सरकारको आलोचना गर्दै विपक्षी दलसँग वार्तामा बसेर राष्ट्रिय मुद्दामाथि छलफल हुनुपर्ने बताएका हु्न।
प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।
‘जनता र लोकतन्त्र रहे मात्रै मुलुक रहन्छ’, उनले भने, ‘अहिले देखिएको निराशा र नैराश्य चिर्न सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’ सांसद सिंहले पछिल्लो साता आत्मदाहको प्रयास गरेर मृत्युवरण गरेका तीनै जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गरे।
यस्तै, रास्वपा सांसद रीमा विश्वकर्माले ‘न्याय पाउन, पीडा सुनाउन नागरिकले आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो ?’ भन्दै प्रश्न गरिेन्। उनले देशमा आत्मदाहका घटना बढेको भन्दै ‘नीति सुधारको दौडमा रहेको सरकार कतै हतार गरिरहेको त छैन?’ भनी प्रश्न गरिन्।
उनले भनिन्, ‘जसका लागि कानुन बनाउँदै छौं, कतै उनीहरू नै त्यसको मारमा त परिहेका छैनन्?’ उनले सरकारलाई ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने भनाइ सुनाइन्। ‘एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु,’ सांसद विश्वकर्माले भनिन्, ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ।’
सांसद खडकबहादुर बुढाले अविरल वर्षासँगै असार २८ गते आएको पहिरोले घर पुरिएर भेरी नगरपालिकाका जयशीला शाहको मृत्यु भएकामा सरकारको गम्भीर ध्यानाकर्षण गराए। सांसद बुढाले भूकम्प प्रभावित जनताले कहिलेसम्म यस्तो खालको घटनामा ज्यान गुमाउनुपर्ने हो भनी सरकारसँग जवाफ माग गरे।
सांसद नरेन्द्रकुमार केरुङ वर्षायाम सुरु भएसँगै इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थसहित एलपिजी ग्यासलगायतको अभाव भई सर्वसाधारणको जनजीवन प्रभावित भएको विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराए।
उनले मेची राजमार्गअन्तर्गतको राजदुवाली सडक खण्डको नियमित मर्मतसम्भार नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेकाले मर्मतसम्भारको काम अघि बढाउन अनुरोध गरे।
सांसद दीपककुमार साहले दैनिक १२ देखि १८ घन्टासम्म विद्युत् आपूर्ति नहुँदा सुनसरीका जनताले सास्ती बेहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले विद्युत् नियमित मर्मतसम्भारका लागि सरकारसँग माग गरे।