काठमाडौं। संसद् बैठकमा नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्र विपरीत हिँडेर श्री ८ बन्न खोजेको आरोप लगाएका छन्। राईले श्री ८ बालेनलाई प्रश्न गर्न पाइँदैन भन्ने शैलीमा सरकार सञ्चालन भइरहेको दाबी गरे।
सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्र्याउने काम अलोकतान्त्रिक र राज्य आतंक भएको उनको भनाइ छ।
कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरे। उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको, सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिले शासन चलाइरहँदा सत्ता पक्षका सांसद मुखमा टेप लगाएर बसेको उनको आरोप छ।
‘सरकार यो पनि भन्दै छ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन,’ उनले कटाक्ष गरे।
प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिएपछि सत्तारुढ रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन्। उनले प्रधानमन्त्रीलाई श्री ८ को सरकार भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन माग गरे।