काठमाडौं। एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भीलले आज नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ घोषणा गरेको छ। यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्याय सुरुवात गरेको छ।
भीलले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ। यसमार्फत व्यवसायले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिट तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन्। साथै, नेपाल र भारतका क्रिएटरले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन्।

भीलको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले भीलको दक्षिण एसियाली यात्राको सुरुवातलाई थप विशेष बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले भने, ‘नेपाल र भारतमा भीलको औपचारिक शुभारम्भ दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो। यो क्षेत्र लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायको घर हो, जसले विश्व स्तरीय प्रविधिमार्फत सहकार्य गर्न, सँगै विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ।’
कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत, ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार तथा प्रबन्ध निर्देशक डा। मनीष थापा सम्माननीय प्रमुख अतिथिका रूपमा सहभागी थिए।
नेपाल र भारतमा भएको यो औपचारिक शुभारम्भ भीलका लागि महत्त्वपूर्ण उपलब्धि हो। अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै गरिएको यो पहिलो औपचारिक विस्तार हो। नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित भील एक एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो, जसले ब्रान्ड र क्रिएटरलाई एउटै स्मार्ट कार्य प्रवाहमार्फत जोड्छ।
इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने परम्परागत प्रक्रियाको सट्टा भील ले सम्पूर्ण क्रिएटर अभियान व्यवस्थापन एउटै प्लेटफर्ममा सम्भव बनाएको छ।
व्यवसाय आफ्ना उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टबारे अभियान विवरण तयार गर्छन्। त्यसपछि क्रिएटरहरूले अभियानमा आवेदन दिन सक्छन् वा भीलको एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन्छन्। छनोट भएका क्रिएटरहरूले प्लेटफर्ममै उपलब्ध भिडियो सम्पादन उपकरण र लाइसेन्स प्राप्त सङ्गीत प्रयोग गरी कन्टेन्ट तयार गर्छन्।
हाल भीलमार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश जोडिएका छन्। नेपाल र भारतका व्यवसायले वेबसाइट तथा क्रिएटरहरूले एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन्। भीलले नेपालमा भुक्तानी प्रक्रियाका लागि एनसीएचएल, फेनपे, इसेवा, खल्ती र हाम्रे पेसँग भुक्तानी साझेदार गरेको छ।