काठमाडौं। अविरल वर्षाका कारण विभिन्न नदीमा आकस्मिक बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको हो।
महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने नदीमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ।
मुख्य र ठूला नदीको अवस्था भने हाल सामान्य छ। कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा मुनि छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। आइतबार र सोमबार कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
