काठमाडौं। नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथासहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ। तीन ‘ज’ अर्थात् (जमिन, जंगल, जलस्रोत)सहित विशेषगरी पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचुर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ।
पछिल्ला वर्षमा नेपालले विशेषगरी आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ। यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ। आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हब)का रूपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ।
आधारशिलाको एउटा अनुपम उदाहरण नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा हो। हाल संघको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन्।
संघअन्तर्गत सञ्चालित ती आँखा अस्पताल तथा उपचार केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा मात्र भारतलगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन्। ‘गुणस्तरीय सेवा’ वापत यो मुद्रा भित्रयाउनु प्रचुर संभावनाको ढोका खोल्नु हो।
उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेको छन् भने बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन्। यो रकमलाई अस्पतालहरूको आयको तथ्यांकका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन।
यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ। साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ।
सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।