नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय प्रविधि र सेवा विस्तारमा निकै अगाडि बढेको छ। तर, विकासको यो गतिसँगै समाजका सबै वर्ग, विशेषगरी अपांगता भएका व्यक्तिलाई बैंकिङ पहुँचमा कसरी जोड्ने भन्ने विषयमा गम्भीर छलफल र कार्य भइरहेका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन र बैंकहरूको आफ्नै सामाजिक उत्तरदायित्वका कारण अहिले बैंकिङ क्षेत्रलाई थप समावेशी र अपांगतामैत्री बनाउने प्रयास जारी छ।
भौतिक र डिजिटल पहुँचमा सुधार
दृष्टिविहीन तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि एटीएम सेवालाई सहज बनाउन राष्ट्र बैंकले स्पष्ट निर्देशन दिएको छ। अब एटीएम लाउन्जहरूमा कम्तीमा एउटा मेसिन ‘ब्रेल साइन’, कन्ट्रोल बटन र अडियो सपोर्टसहितको हुनुपर्नेछ। यस्ता एटिएमको लोकेसन पनि बैंकको वेबसाइटमा अनिवार्य रूपमा उल्लेख गरिनुपर्नेछ।
डिजिटल बैंकिङलाई पहुँचयोग्य बनाउन वेबसाइट र मोबाइल एप दृष्टिविहीनमैत्री बनाउनुपर्ने र बैंकले जारी गर्ने डेबिट/क्रेडिट कार्डमा समेत छामेर चिन्न सकिने ‘ट्याक्सटाइल फिचर्स’ राख्नुपर्ने व्यवस्था गरिएको छ। यी प्रविधिले अपांगता भएका व्यक्तिलाई बैंकिङ कारोबारका लागि अरूको भर पर्नुपर्ने बाध्यता हटाउनेछ।
पहिले अपांगता भएका व्यक्तिहरूलाई एटीएम वा मोबाइल बैंकिङ सुविधा दिन बैंकहरूले केही झन्झट गर्ने गुनासो थियो। तर, नयाँ निर्देशिकाले यसलाई सम्बोधन गरेको छ। अब अपांगता भएका व्यक्तिले आफू एटीएम, मोबाइल र इन्टरनेट बैंकिङ चलाउन सक्षम रहेको स्वघोषणा गरे बैंकले अनिवार्य रूपमा उक्त सेवा उपलब्ध गराउनुपर्नेछ। यसले ग्राहकको आत्मसम्मान र वित्तीय स्वतन्त्रतालाई प्रवर्द्धन गर्दछ।
अहिले धेरै बैंकहरूले आफ्ना शाखालाई ह्वीलचेयर पहुँचयोग्य बनाउन ग्राउन्ड फ्लोर (भुइँतला) मा सार्ने वा र्याम्प व्यवस्था गर्ने काम गरिरहेका छन्। विशेषगरी दृष्टिविहीन व्यक्तिका लागि कम्तीमा एउटा ‘भ्वाइस गाइडेड’ (आवाज आउने) एटीएम मेसिन राख्ने प्रक्रिया सुरु भइसकेको छ।
कतिपय बैंकहरूले आफ्ना प्रधान कार्यालयमा यस्तो परीक्षण गरिसकेका छन् र क्रमशः यसलाई देशैभरिका पहाडी, हिमाली र तराई क्षेत्रका शाखामा विस्तार गर्ने लक्ष्य राखिएको छ। यो एकैपटक सम्भव नभए पनि क्रमिक रूपमा कार्यान्वयन हुँदै जानेछ।
ऋण प्रवाहमा विभेद छैन
ऋपांगता भएका व्यक्तिहरूले ऋण लिन चुनौती सामना गर्नुपरेको भन्ने विषयमा मेरो स्पष्ट धारणा छ–बैंकहरूले अपांगताकै आधारमा कसैलाई पनि विभेद गर्दैनन्। ऋण दिने प्रक्रिया मुख्यतया व्यवसायको प्रकृति, त्यसबाट आउने प्रतिफल र ‘क्यासफलो’ मा आधारित हुन्छ। यदि कुनै अपांगता भएका व्यक्तिले राम्रो व्यवसाय सञ्चालन गरिरहनुभएको छ वा उहाँ जागिरमा आबद्ध हुनुहुन्छ भने बैंकले क्षमता हेरेर ऋण प्रवाह गर्छ।
पेसागत ऋणका हकमा पनि अपांगता भएका व्यक्तिहरूले अन्य ग्राहकसरह नै सुविधा पाउँछन्। बैंकहरूको उद्देश्य भनेकै लगानी सुरक्षित गर्नु र ग्राहकलाई उद्यमशील बनाउनु हो। त्यसैले क्षमता भएका व्यक्तिका लागि बैंकिङ ढोका सधैं खुला छ।
विशिष्ट सेवा र मानवीय व्यवहार
बैंकहरूले अहिले आफ्ना शाखामा ‘प्रिभिलेज काउन्टर’ वा विशेष काउन्टरको व्यवस्था गरेका छन्। अपांगता भएका ग्राहकहरू बैंकमा पुग्दा उहाँहरूले लामो लाइनमा बस्नु नपरोस् र छिटो सेवा पाउनुहोस् भन्ने हाम्रो उद्देश्य हो।
यसका साथै बैंकका सुरक्षागार्डदेखि कर्मचारीलाई पनि अपांगता भएका व्यक्तिप्रति मानवीय र सहयोगी व्यवहार गर्न निर्देशित गरिएको छ। कुनै पनि दृष्टिविहीन वा शारीरिक अशक्तता भएको व्यक्ति बैंकमा आउँदा उहाँहरूलाई सुरुदेखि अन्त्यसम्म सहयोग गर्नु हाम्रो मानवीय र व्यावसायिक जिम्मेवारी पनि हो।
सहुलियतपूर्ण ऋण र वित्तीय साक्षरता
अहिले बैंकहरूले सबैका लागि समान व्यवहार गर्ने नीति लिएका छन्। अपांगता भएका उद्यमीका लागि छुट्टै विशेष सहुलियत योजना तत्कालै नभए पनि राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका प्रावधानभित्र रहेर उहाँहरूलाई सहयोग गर्ने कार्य भइरहेको छ। वित्तीय साक्षरताका सन्दर्भमा पनि हामीले सामग्रीलाई कसरी समावेशी बनाउन सकिन्छ भन्नेमा ध्यान दिइरहेका छौं।
बैंकिङ प्रणालीलाई पूर्ण रूपमा अपांगतामैत्री बनाउन केही समय लाग्न सक्छ, तर हामी सही दिशामा छौं। प्रविधि र पूर्वाधारमा गरिने सुधारले अपांगता भएका व्यक्तिहरूलाई अरूमाथि निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गरी वित्तीय रूपमा स्वतन्त्र बनाउनेछ। नेपालका सबै बैंकहरू संवेदनशील विषयमा एकजुट छन् र आगामी दिनमा सेवालाई अझ पहुँचयोग्य र मैत्रीपूर्ण बनाउन प्रतिबद्ध छन्।