काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा रोजगारीका लागि झण्डै ८ लाख युवा विभिन्न मुलुक प्रस्थान गरेका छन्। गत आवमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली श्रमिक गन्तव्य मुलुक गएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार ६ लाख ९७ हजार ९१ जना पुरुष रहेका छन् भने ९५ हजार ९१ जना महिला रहेको विभागको तथ्यांकमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी आएको हो। आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए। विभागले जारी गरेको वार्षिक सूचना अनुरूप गत आर्थिक वर्षमा वैदेशिक रोजगार व्यवसायी मार्फत जाने श्रमिकको संख्यामा गिरावट भएको हो।
जसमा आर्थिक वर्ष २०८२/८३ मा २ लाख ६८ हजार ९ सय ९० जना रहेको पाइएको छ भने त्यसभन्दा अघिको वर्षमा १ लाख २८ हजार ५ सय २० व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ भने यता जिटुजी मार्फत गन्तव्य मुलुक गएका श्रमिकको संख्या भने ८ हजार १ सय ९७ जना रहेको सरकारी तथ्यांक रहेको छ। म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए।
विभागका अनुसार नेपाली श्रमिकहरूको सर्वप्रथम पहिलो रोजाई संयुक्त अरब इमिरेट्स अर्थात् युएई रहेको छ। गत आर्थिक वर्षमा सरकारी तथ्यांक अनुसार युएई जाने नेपाली श्रमिकहरूको संख्या १ लाख ८३ हजार ५ सय ८० जना युएई पुगेका छन्। दोस्रो स्थानमा मलेसिया रहेको छ जसमा १ लाख ३२ हजार ६४६ जना नेपाली श्रमिक विभिन्न क्षेत्रमा काम गर्न गएका हुन्। अर्कोतर्फ तेस्रो स्थानमा कतारमा १ लाख ३२ हजार ५१ जना र चौथो स्थानमा साउदी अरबमा १ लाख २४ हजार ५ सय ८३ जना नेपाली रोजगारीका लागि पुगेका हुन्। त्यस्तै युरोपेली मुलुक रोमानियामा पनि ३३ हजार ९ सय २० जना नेपाली श्रमिक गएको सरकारी तथ्यांक रहेको छ।
विभागका अनुसार गत वर्षमा दक्ष जनशक्ति विभिन्न कामका लागि विभिन्न देशमा ४ लाख ८२ हजार ६ सय ४३ जना गएको पाइएको छ। अदक्ष १ लाख ९० हजार २ सय ६४ जना, अर्ध दक्ष १ लाख १४ हजार ६ सय १४ जना, व्यावसायिक ३ हजार ५ सय ७० जना तथा उच्च दक्ष १ हजार ९६ जना विभिन्न क्षेत्रमा काम गर्न भन्दै गन्तव्य मुलुक तर्फ गएको सरकारी आकडा रहेको छ।
त्यस्तै नेपालबाट रोजगारीका लागि जाने श्रमिक मध्ये सबै भन्दा धेरै श्रमिक गएको जिल्ला मध्ये झापा हो। गत वर्ष झापा जिल्लाबाट मात्र १६ हजार २ सय ८६ जना श्रमिक रोजगारीको लागि विभिन्न मुलुक गएका छन्। मधेस प्रदेशबाट सबै भन्दा धेरै धनुषाबाट गएका छन् जहाँबाट १५ हजार ६ सय ९८ जना, मोरगबाट १५ हजार ३ सय ३६ जना , दाङबाट ११ हजार ११ जना , महोत्तरीबाट ११ हजार ८ सय ९९ सर्लाहीबाट १२ हजार १ सय ८३ र सप्तरीबाट १० हजार २ सय ६४ जना नेपाली श्रमिक विभिन्न रोजगारीका लागि गन्तव्य मुलुक गएको विभागले उल्लेख गरेको छ।