काठमाडाैं। हिमालय एयरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (ओएचसीआर) तथा इन्टरनेसनले एभियसन इनेभेसन अर्गनाइजेसन आइएआईओका विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि प्रधान कार्यालयमा स्वागत गरेको छ।
प्रतिनिधिमण्डलमा ओएचसीआरअन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा। चित्रलेखा मास्सी, आइएआईओ(नार्डेका यूनओजी तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ शुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए।
छलफलका क्रममा ज्येष्ठ यात्रुहरूलाई यात्रा गर्दा पर्न सक्ने कठिनाइ हटाउने र उनीहरूलाई कसरी थप सहज सेवा दिन सकिन्छ भन्नेबारे विचार आदान-प्रदान भएकाे छ। हिमालय एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो।
उक्त अन्तरक्रियामा ज्येष्ठ यात्रुको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन अवलम्बन गर्न सकिने उपायबारे समेत छलफल भएको थियो।
सो अवसरमा राष्ट्रसंघकी प्रतिनिधि डा. चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासबारे चर्चा गरे। उनले उमेरमैत्री तथा समावेशी अभ्यासको प्रवर्द्धनका लागि निरन्तर ज्ञान आदान–प्रदान र सहकार्य आवश्यक रहेको बताए।
साथै, हवाई उड्डयन क्षेत्रमा समावेशी सेवासम्बन्धी सचेतना र बुझाइ अभिवृद्धि गर्न प्रतिनिधिमण्डलले आफ्नो ज्ञान, अनुभव तथा विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।
उक्त अन्तरक्रियाले दुवै पक्षलाई आफ्ना अनुभव तथा दृष्टिकोण आदान-प्रदान गर्ने अवसरका साथै मानव अधिकारमा आधारित, उमेरमैत्री तथा पहुँचयोग्य अभ्यासहरूले ज्येष्ठ यात्रुहरूलाई थप सम्मान, आत्मविश्वास र स्वतन्त्रताका साथ यात्रा गर्न सक्ने वातावरण निर्माणमा पुर्याउने योगदानबारे छलफल गर्ने अवसर प्रदान गरेको थियो।
प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्समा उमेरको आधारमा कसैलाई पनि भेदभाव नगरी हरेक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप उड्डयन क्षेत्रलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउने विषयमा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसंग संवाद गर्न पाउनु गौरवको विषय हो। यस अन्तरक्रियाबाट प्राप्त अनुभवले सबैका लागि सहज हवाई यात्रा सुनिश्चित गर्ने हाम्रो साझा प्रयासमा ठूलो योगदान पुर्याउनेछ।’
हिमालयले विशिष्ट प्रतिनिधिमण्डलसँग भएको यस महत्त्वपूर्ण अन्तरक्रियालाई उच्च प्राथमिकता दिएको छ। वायुसेवाले हवाई यात्रालाई थप समावेशी, पहुँचयोग्य, यात्रुकेन्द्रित तथा सम्मानजनक बनाउन निरन्तर सिकाइ, ज्ञान आदान–प्रदान र सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।