काठमाडाैं । चालू आर्थिक वर्षको अन्तिम दिन आज असार ३१ गते सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.९ अंकले बढेर १३६२.३४ अंकमा कारोबार रोकिएको छ ।
बुधबार विहान कारोबार खुलेसँगै बढ्ने रफ्तारमा देखिएको सूचकले कुनै बेला १३६७.८ अंकसम्म छोएको थियो । तर, कारोबारको अन्तिम समयमा फेरी संकचन आयो र अन्त्यमा बजार बढेर बन्द भयो । बुधबारको सूचकमा बृद्धि भएसँगै चालू आर्थिक वर्षमा समग्रमा नेप्से सूचक १०३.३२ अंकको बृद्धि भएको छ ।
चालू वर्षमा नेप्से सूचक न्यून र उच्च विन्दुको अन्तर ५२३.०१ अंकभित्र रमाउन पुगेको मात्रै छैन आर्थिक वर्ष सकिँदा उच्च र न्यून विन्दुको मध्यक्रममा नेप्से सूचक अडिग छ । तर, गत वर्षको अन्तिम दिनको नेप्से सूचकबाट चालू वर्षको अन्तिम दिनको सूचकमा भने १०३.३२ अंकको मात्रै बृद्धि देखिएको हो ।
देखिएका न्यूनतम र अधिकतम विन्दुहरुलाई पनि सन्तुलनमा राखेर मध्यमक्रममै नेप्से सूचक बसेको देखिन्छ । यसअवधिमा कुन कम्पनीको कति सेयर मूल्य बढ्यो वा घट्यो भन्ने विषय अलग हिसावले बहस÷छलफल होला तर, समग्र सूचकमा भने सामान्य बृद्धि मात्रै देखियो ।
२०७६ असार ३१ मा १२५९.०२ अंकमा रहेको नेप्से चालू आर्थिक वर्षसँगै उतारचढाव हुँदै अझ घट्दो क्रममा देखियो । २०७६ मंसीर १० गते चालू वर्षकै न्यून विन्दु ११०९.१७ अंकमा आईपुग्यो । त्यसपछि भने बजार थोरै रौनक देखायो । जसले गर्दा २०७६ फागुन १५ मा चालू वर्षकै उच्च विन्दु १६३२.१८ अंक पुगेको थियो ।
तर, त्यो उचाईलाई पनि बजारले थेग्न सकेन र बजारले उतारचढाव कायमै राख्यो । जसले बजार कहिले घट्ने र कहिले बढ्ने हुँदै चालू आर्थिक वर्षको अन्तिम दिन असार ३१ मा १३६७.८ विन्दु कायम गरेर बजार बन्द भएको छ । यसबीचमा करीव ३ महिना कोरोना भाईरस (कोभिड–१९)का कारण सेयर कारोबार नै बन्द भयो । तर, कोरोना कहरपछि खुलेको बजारले भने विस्तारै गति लिन थालेको छ, जुन कारोबारको अन्तिम दिन पनि देखियो ।
यसअघि २०७३ साउन १२ गते अहिलेसम्म अधिकतम विन्दु १८८१.४५ अंक छोएर झर्न थालेको बजार गत वर्ष (२०७५) फागुन १९ गते ११००.५८ अंकसम्म झरेको थियो । त्यसपछि विस्तारै उक्लिन सुरु गरेको बजारले चालू आर्थिक वर्षमा १२५९.०२ अंकबाट कारोबार सुरु गरेको थियो ।
बुधबारको कारोबारमा नेप्सेमा बर्गीकृत १२ ओटा उपसूचकमध्ये ४ ओटा उपसूचक घटेको छ भने ८ ओटा उपसूचकमा बृद्धि हुँदा समग्र नेप्सेमा सकारात्मक सुधार देखिएको छ । बुधबार १५ हजार ८ सय ५८ कारोबारबाट ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भई १ अर्व १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँबराबरको सेयर खरिद विक्री भएको छ ।