काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सकारात्मक देखिएको छ । विगत केही दिनदेखि सकारात्मक देखिएको नेप्से सूचकले विहीबार कारोबारको सुरुवातदेखी बढ्ने रफ्तारमा अघि बढेको हो ।
धेरै बढ्ने र सामान्य घट्ने हुँदै अन्तिमसम्म बढेर सूचक १४०० नजिक पुगेको छ । यद्यपी कारोबारको अन्तिम समयतिर सूचक १३९५.८३ अंकसम्म चढेपनि कारोबार बन्द हुँदा १३९४.७७ अंकमा रोकिएको छ ।
गत आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते नेप्से १४.९ अंकले बढेर १३६२.३४ अंकमा कारोबार रोकिएको थियो । गत वर्षभरी समग्रमा १०३ अंकले बढेको नेप्से विहीबार एकै पटक ३२.४२ अंक (२.३८ प्रतिशत)ले बढेको छ । अन्य क्षेत्रहरु सुस्त रहेको र बजेट कार्यान्वयनमा समेत समस्या भएको समाचारहरु आईरहेपनि नेप्सेमा कुनै असर परेको देखिँदैन । विश्वव्यापी कोरोना कहरपछि सेयर बजार उकास्न विभिन्न कार्यक्रमहरु आएका थिए । तर, नेपालमा विना कुनै पुनरुत्थान कार्यक्रम सेयर बजारले नयाँ उचाई लिँदै आएको छ ।
पछिल्लो कारोबारको अवस्थालाई हेर्दा केही समय बजार बढ्ने संकेत गरेको रुपमा बुझ्न सकिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरण सूचीकृत कम्पनीहरुले जारी गर्ने बेला भएको र त्यसैको आधारमा चालू वर्ष कम्पनीहरुले लाभांस घोषणा गर्ने गर्छन् ।
यस वर्ष लाभांस पनि नगद नभई बोनस दिनुपर्ने भन्ने विषयमा चौतर्फी बहसहरु र अड्कलबाजी भईरहेको छ । यसले पनि बजार बढाउन सहयोग गरेको छ । अर्कोतिर बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर निरन्तर घटाउँदै गएका छन् । निक्षेपमा व्याजदर कटौतिपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुन्छन् । त्यस्तै अहिले घरजग्गाको व्यवसाय पनि राम्रोसँग फस्टाउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला बजारले सकारात्मक सन्देश दिएकाे छ । माैद्रिक नीतिले पूँजी कर्जा निक्षेप(सीसीडी) बढाउने, लघुवित्तकाे पूँजी वृद्दिकाे चर्चा, मार्जिन धिताेकाे वृद्दि र मर्जर नीतिका कारण बजार बढ्ने अपेक्षा गरिएकाे छ । त्यसकाे परिणाम भने माैद्रिक नीति पछि नै यकिन हुनेछ ।
त्यसले लगानीकर्ता सबैतिरबाट पुँजी बजारमा केन्द्रित भएको अनमान गरिएको छ । बिहीबारको कारोबारमा नेप्सेमा बर्गीकृत १२ ओटै उपसूचकहरु सबै बढ्दा समग्रमा नेप्से सूचकले छलाङ नै हानेको छ । बिहीबार १६ हजार ५ सय ४५ कारोबारबाट २९ लाख १४ हजार ५ सय १८ कित्ता सेयर किनबेच भई १ अर्व ४ करोड १७ लाख ७० हजार ८ सय ६७ रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार भने १५ हजार ८ सय ५८ कारोबारबाट ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भई १ अर्व १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँबराबरको सेयर खरिद विक्री भएको थियो ।
नेपालको सेयर बजार बढ्ने क्रममा सामान्यतया सुरुमा बिमा कम्पनीहरु बढ्ने, त्यसपछि लघुवित्त कम्पनीहरुले ठाउँ लिने र त्यसपछि विस्तारै वाणिज्य बैंकहरुले स्थान बनाउने गरेको पाईन्छ । बुधबार र विहीबारको कारोबारले बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यले नयाँ उचाई समाउन खोजेको देखिन्छ । यद्यपी नेप्सेमा अझै वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था)को बर्चस्व ७० प्रतिसतभन्दा बढी छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य र बैंकिङ उपसूचकले नेप्से बढी प्रभावित हुने गर्दछ ।