काठमाडाैं । चालू आर्थिक वर्षको दोस्रो दिन अथात् आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो सर्किटसँग कारोबार बन्द भएको छ । सेयर बजार खुलेको १ घन्टा १० मिनेटमै बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।
केही दिनदेखी लागतार बढेको बजारमा साउन २ गतेको मौद्रिक नीतिले सेयर बजारमा उछाल ल्याईदिएको छ । मौद्रिक नीतिले सेयर कर्जालाई खुकुलो बनाउँदै १८० दिनको औसतको सट्टा १२० दिन, सेयर धितो मूल्याङ्कनको सीमा ६५ प्रतिसतबाट बढाएर ७० प्रतिसत, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरण कडाई, लघुवित्त वित्तीय संस्थामा व्याजको सिलिङ र नयाँ खोल्न रोक, पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात ८० प्रतिसतबाट बढाएर ८५ प्रतिसत पु¥याउँदा व्याजदर घट्ने भएपछि आईतबारको बजारमा उठाल आएको हो ।
कारोबार सुरु भएलगत्तै बढ्न थालेको बजार सुरुवाती २० मिनेटमै ४ प्रतिसतले बढेपछि कारोबार स्थगित भएको थियो । दोस्रो पटक २० मिनेटपछि खुलेको बजार फेरी थप १ प्रतिसतले बढेसँगै ४० मिनेटका लागि रोकिएको थियो । त्यसपछि पनि बजार बजार लगातार बढेर ६.०४ प्रतिसत अर्थात् नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा वर्गीकृत १२ उपसूचकमध्ये आईतबार १० उपसूचक कारोबार भएको म्यूचुअल फन्डबाहेकका ९ उपसुचकमा हरियाली छाएको छ ।
आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक (सर्वसाधारण र संस्थापक दुबै) र शिखर इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ । त्यसैगरि १६ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिसतभन्दा बढीले बढेको छ ।
आइतबार १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.३९ अंकले बढेर ३१२.४४ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत ३६.१३, निर्जीबन बीमा कम्पनी २०२.४, उत्पादन तथा प्रशोधन १४१.७८, अन्य ४९.३९, माइक्रोफाइनान्स ९२.३९, जीवन बीमा समूहको ५४८.६६ अंकले बढेको छ ।