काठमाडौं । यो साताको दोस्रो दिन अथात् सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दोस्रो सकारात्मक सर्किटसँगै करेक्सन देखिएको छ । ५ प्रतिशतले सूचक बढेर ४० मिनेटका लागि बन्द भएको बजार खुलेसँगै निरन्तर घट्दो क्रममा छ ।
साउन २ गते मौद्रिक नीति आएसँगै आईतबार बजारमा उछाल आएर ८४ अंकले बढेको सूचक सोमबार ७४ अंकले बढेपनि दोेस्रो सर्किटपछिको खुलेको बजारमा दिउँसो १२ बजेटर १५ मिनेट जाँदा ०.२ अंकले घटेर १४७८.८३ मा झरिसकेको छ ।
आईतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमै बजार ६ प्रतिशतले बढेपछि कारोबार रोकिएको थियो । अत्यधिक दबाबमा बजार बढेपछि लगानीकर्ताहरु तत्काल नाफा ‘बुक’ गर्न खोज्दा जसरी बढेको थियो बजार त्यसैगरि घटेको छ ।
यद्यपी बजार निरन्तर घट्ने सम्भावना भने कम छ । सूचकमा गिरावट देखिएसँगै यसअघि उच्च बृद्धि भएका कम्पनीहरु क्रमशः ओरालो लाग्दै नयाँ कम्पनीहरुले ठाउँ बनाउन थालेका छन् ।
मौद्रिक नीतिले सेयर कर्जालाई खुकुलो बनाउँदै १८० दिनको औसतको सट्टा १२० दिन, सेयर धितो मूल्याङ्कनको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण कडाई, लघुवित्त वित्तीय संस्थामा व्याजको सिलिङ र नयाँ खोल्न रोक, पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात ८० प्रतिसतबाट बढाएर ८५ प्रतिसत पु¥याउँदा व्याजदर घट्ने भएपछि आईतबारको बजारमा उछाल आएको थियो ।
तर, यस दिन कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । आईतबार ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको थियो ।