काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत मध्ये ९९ ओटा कम्पनीहरुले गत आर्थिक वर्षमा सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका छन ।
अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीहरुले गत आर्थिक वर्षमा बोनस सेयर वितरण गरेका हुन । ९९ ओटा कम्पनीहरुले ३३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ३४ करोड ६४ लाख १७ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, होटल, बीमा, उत्पादनमुलक संस्थाहरुले सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन ।
सूचि हेर्न यहाँ क्लिक गर्नुहोस
बोनस सेयर वितरण गर्ने अधिकाँश कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाहरु छन । यसपछि बीमा कम्पनी, जलविद्युत, होटललगायत कम्पनीहरुले सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका हुन ।
कम्पनीहरुले १.५ देखि ८६ प्रतिशत बोनस सेयर वितरण गरेका छन । प्रतिशतका आधारमा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको छ । उसको ८६ प्रतिशत बोनस सेयर रहेको छ । यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीले ८४, उन्नति माइक्रोफाइनान्सले ४०.५ र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३४.४६ प्रतिशत बोनस सेयर वितरण गरेको बोर्डले जानकारी दिएको छ ।
यसैगरी हिमालयन डिस्टिलरीले ५०, मेरो माइक्रोफाइनान्सले ३०, चिलिमे हाइड्रोपावरले २०, स्वोरोजगार लघुवित्तले २६.७५, सूर्योदय लघुवित्तले ४४.४८, मिर्मिरे लघुवित्तले ४५, उन्नती लुघवित्तले ३८.६० प्रतिशत बोनस सेयर वितरण गरेका छन ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चुक्तापुँजी बढाउन सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका हुन ।
यस्तै जलविद्युत कम्पनीहरुले नयाँ आयोजना बनाउन लगानीकर्ताहरुलाई बोनस सेयर वितरण गरेका हुन । सबै बैंकहरुको चुक्तापुँजी पुगेकाले चालु आर्थिक वर्षदेखि नगद बढी बोनस सेयर कम दिएका छन । यस्तै बीमा कम्पनीहरुले पनि चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका हुन ।