काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ आकासिंदै गएको छ । सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको भाउ बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मको सर्वाधिक मूल्य हो ।
सुनको भाउ आकासिएपछि नेपाली बजारमा सुन कारोबार ठप्प भएको व्यवसायीहरुले बताएका छन । सुनको भाउ बढे पनि यो वर्ष यो विन्दुमा पुग्ला भन्ने अनुमान गरिएको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको पुस १७ गते सुनको मूल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँ थियो । लकडाउनअघि तोलाको ७७ हजार रुपैयाँ थियो । गत जेठ २५ गते बढेर प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस कारण सुनको भाउ बढिरहेको छ
अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि यसको असर नेपालमा परेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन । शाक्यका अनुसार बिहीबार विश्व बजारमा सुनको भाउ उछालिएर प्रतिआउँन्स १ हजार ९६६ अमेरिकी डलर पुगेको छ । यो रफ्तारले बढ्दै गएमा केही महिनाभित्र सुनको भाउ आउन्सको २ हजार डलर र नेपालमा तोलाको १ लाख रुपैयाँ कट्ने अनुमान गरिएको उनले सुनाए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले सुनको भाउ बढाएको शाक्य बताउँछन । कोरोनाले विश्वको अर्थतन्त्रलाई संकटमा पारेपछि अहिले विश्व बजारमा सुन नै एकमात्र भरपर्दौ सुरक्षित र बढी प्रतिफल दिने लगानीको क्षेत्र ठानिएको शाक्यको भनाई छ ।
उनकाअनुसार सन २०१८ मा सुनको उत्पादन वार्षिक ४ हजार ५०० टन भएकोमा सन २०२० को मध्यमा आइपुग्दा घटेर ३ हजार ५०० टनमा सीमित भएको छ । सुरक्षित लगानीको क्षेत्र देखिएपछि विश्व बजारमा सुनको माग अधिक भएको तर उत्पादन घटेका कारण आपूर्ति कम भएपछि लगातार भाउ उकालो लागेको हो ।
यस्तै हङकङको विषयलाई लिएर अमेरिका र चीनबीच विवाद बढ्दा यसले सुन बजारलाई माथि पुर्याएको उनको तर्क छ । कोरोना संक्रमण रहेसम्म सुनको भाउ नघट्ने र निरन्तर माथि गइरहने संभावना रहेको उनले बताए । बढी कारोबार हुने तीजको पूर्व सन्ध्यामा सुन पसलहरुमा सुनसान देखिएको छ । सामान्य अवस्थामा दैनिक ३० किलोसम्म सुन किनबेच हुने गरेको थियो ।
सुनमा हुने लगानीलाई अनुत्पादक मानिएको छ । डलर सञ्चिती कम हुने भएकाले पनि सरकारले पनि सुन आयातलाई निरुत्साही गर्दै आएको छ । सरकारले सुन आयातमा कोटा लगाएको छ ।
बढी प्रतिफल देखेर विश्व बजारमा व्यवसायीले सुनमा लगानी बढाएको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । कोभिडका कारण अहिले विश्व बजारमा पेट्रोलियम पदार्थको मागमा कमी, सेयर र कमोडिटी बजार असुरक्षित देखिएपछि व्यापारीहरुले सुनबाट बढी कमाइ हुने र सुरक्षित लगानीको क्षेत्र भएका कारण भाउ उकालो लागेको भट्टको तर्क छ ।
यस्तै कोरोना त्राशले विभिन्न विकशित र उदयीमान मुलुकका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउँदा डलरमा लगानी कमी हुन गएको, वण्ड र सेयर बजारले पनि तान्न नसकेपछि विकल्पमा सुन सुरक्षित लगानीको क्षेत्र देखिएको उनको भनाई छ ।
बैंकमा पैसा राख्दा ब्याज कम आउने देखिएपछि लगानीकर्ताको ध्यान सुरक्षा र छिटो कमाउनेतिर गएको छ । गत आर्थिक वर्षको ११ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सुन बजार सुनसान
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार बढेका बेला नेपालमा भने बिक्री ठप्प भएको छ । भाउ आकासिएका कारण सुनका गहना किन्नेहरु पसलमा नआएको शाक्यले जानकारी दिए । सुनको भाउ बढेका बेला किन्ने भन्दा बेच्ने बढी हुने गरेका छन । सुनको भाउ निरन्तर उकालो लागेपछि बैंकमा रहेको सुन बिक्री हुन सकेको छैन ।
सुन व्यापारीले माग नगरेपछि बैंकमा सुन थन्किएको हो । विभिन्न वाणिज्य बैंकहरूले विदेशबाट आयात गरेको ३२१ किलो सुन मौज्दात छ । दैनिक २० किलो सुन आयात गर्न पाइने व्यवस्था रहेको थियो । लकडाउन सुरु भएपछि विदेशी मुद्रा सञ्चिती घट्ने संभावना देखिएपछि राष्ट्र बैंकले चैत १९ गतेबाट कोटालाई आधा घटाएर १० किलोमा सीमित गरेको छ ।