काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पहिलो पटक क्लोरिनेटेड पोलिभिनाएल क्लोराईड (सीपीभीसी) मापदण्ड बनाएको छ ।
नेपालमा धेरै प्रयोग हुने भए पनि हालसम्म यसको मापदण्ड बनेको थिएन । तर, अहिले सीपीभीसी पाइपको मापदण्ड बनाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । नेपालमा सबैभन्दा धेरै सीपीभीसी पाइप प्रयोग हुँदै आएको छ । सजिलोसँग जडान गर्ने मिल्ने र खिया पनि नलाग्ने भएकाले यसको प्रयोग बढ्दै गएपछि सरकारले मापदण्ड बनाएको हो ।
‘अहिलेसम्म पाइपमा एनएसको व्यवस्था थिएन,’ पुडासैनीले भने, ‘अब एनएस लिन चाहनेका लागि बाटो खुलेको छ । तर एनएसका लागि बाध्यकारी छैन ।’
बजारमा सीपीभीसी पाइपको माग बढेसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको छ । उत्पादकलाई आफ्ना पाइप गुणस्तरीय छ भनेर देखाउन पनि एनएस लिने विभागले जनाएको छ ।
अहिले नेपाटप, रिजालको पाइप, आईटीपीएफ, हिलटेक, पञ्चकन्यालगायत करिब दुई दर्जन कम्पनीले पाइप तथा फिटिङ्सका सामग्री उत्पादन गर्दै आएका छन् । विभागका महानिर्देशक पुडासैनीका अनुसार अब उद्योगलाई एनएसको बाटो खुला भएको हो ।
अहिलेसम्म नेपाल गुणस्तर प्रमाण (एनएस) र आईएसओ नलिई उत्पादन गरेर बजारमा पाइप पठाइरहेका थिए । तर अब लिन चाहनेका लागि सहज भएको उनको भनाइ छ । आईटीपीफका अध्यक्ष विनीत अग्रवालले सरकारले यसलाई बाध्यकारी बनाउनुपर्ने माग गरे । ‘सरकारले अहिले बाध्यकारी बनाएको छैन,’ उनले भने, ‘तर सबै उद्योगलाई बाध्यकारी बनाउनुपर्छ ।’
सरकारले यसअघि पीपीआरको पनि मापदण्ड बनाइसकेको छ । अहिले सीपीभीसीमा पनि बनाइरहेको छ । यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।
‘अहिलेसम्म भारतीय स्ट्यान्डर्डलाई आधार मानेर पाइप बनाइरहेका थियौं,’ उनले भने, ‘अब भारतीय स्ट्यान्डर्डलाई आधार मान्नुपर्ने अवस्थाको अन्त्य भयो ।’
आईटीपीएफ जर्मन प्रविधि भित्र्याएर नेपालमा विभिन्न पाइप उत्पादन गर्दै आएको छ । नेपाली उपभोक्तालाई गुणस्तरीय पाइपलगायत फिटिङ उपलब्ध गराएको उनको दाबी छ ।
अहिले बजारमा १६ एमएमदेखि ५० एमएमसम्मको सीपीभीसी र १६ एमएमदेखि दुई सय एमएमसम्मका पीभीसी तथा एचडीपीई पाइप बजारमा छ ।