काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद सेयर निष्कासन गर्न नयाँ व्यवसायिक योजना बनाउने भएको छ ।
व्यवस्थायिक योजना नभएको र प्रतिफल धेरै कम दिने भन्दै संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाले हकप्रद सेयरमा लगानी गर्न हिच्चकिच्चाइरहेका बेला एचआईडीसीएलले पाँच वर्षे व्यवसायिक योजनालाई पुनरावलोकन गर्न लागेको हो ।
कम्पनीको नयाँ व्यवसायिक योजना तयार भएपछि संस्थापकहरुले लगानी थप्ने जानकारी दिएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले क्यापिटल नेपाललाई बताए ।
व्यवसायिक योजना तयार गरेर प्रस्तुती गरेपछि उहाँहरुले लगानी गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ’ सीईओ पोखरेलले भने भदौभित्र सबै काम सकिने छ ।’ उहाँहरुको प्रतिफल भन्दा पनि दीर्धकालिन व्यवसायिक योजनामा चासो देखिएको छ, त्यो कुरा हामी सम्बोधन गर्ने छौ’ उनले भने ।
१०/१० प्रतिशतका दरले स्वामित्व लिएका सञ्चय कोषका अतिरित्त नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर खरिद गर्नुपर्ने हुन्छ । ३ ओटा संस्थाको ३०, सरकारको ५० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
सरकारले दुई वर्षअघि नै ५ अर्ब ५० करोड रुपैयाँ थप लगानी गरेको छ । बाँकी ३ ओटा संस्थाबाट ३ अर्ब ३० करोड र सर्वसाधारणबाट २ अर्ब रुपैयाँ लगानी जुट्न बाँकी छ । ३ ओटा संस्थाले थप लगानी गरेपछि मात्र सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्न पाइन्छ ।
एचआईडीसीएलले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लगानीको क्षमता विस्तार र पुँजीगत आधार बलियो बनाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । एचआईडीसीएलले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
३ ओटा संस्थाले लगानी गरेमा एचाआईडीसीएलको पुँजी बढेर झण्डै २२ अर्ब रुपैयाँ पुग्ने छ । यो सञ्चित कोष र बोनस सेयर बाहेकको रकम हो । गत आर्थिक वर्षमा गरको नाफाबाट बोनस सेयर वितरण गरे पुँजी थपिने छ ।
अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यो भन्दा अघिल्लो वर्ष ८६ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
पुँजी बढाउन २०७५ साउनकोे दोस्रो साता बसेको एचआईडीसीएलको १७० औं सञ्चालक समिति बैठकले ऊर्जामा लगानी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
सरकारका तर्फबाट अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन ।
गत वर्ष १०५ करोड नाफा
गत आर्थिक वर्षमा एचआईडीसीएलले गत आर्थिक वर्ष १ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बैंकमा राखेको निक्षेपको ब्याज र लगानी ब्याजबाट गरी सो रकम नाफा गरको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको थियो ।