काठमाडौं । वित्तीय अवस्था राम्रो भएका कम्पनीहरुले मात्र अब बुक विल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने भएका छन ।
लगातार ३ वर्षसम्म राम्रो नाफा गरेको, सेयरधनीलाई लगातार लाभांश बाँडेको, खुदसम्पत्ति (नेटवर्थ) डेढ गुणा बढी भएको र राम्रो रेटिङ भएका कम्पनीहरु मात्र आईपीओ निष्कासन गर्न बुक विल्डिङ विधिमा जान पाउने भएका हुन ।
सबै कम्पनी बुक विल्डिङमा जान नपाउने बोर्डका प्रवत्ता निरज गिरीले बताए । ठुला र उत्पादनमुलक उद्योगहरुलाई सेयर बजारमा ल्याउन बुक विल्डिङ विधि लागु गरेको उनको भनाई छ । बोर्डमा आईपीओका लागि आवेदन दिने सबै कम्पनी बुक विल्डिङमा जान नपाउने भएका छन ।
बैंक तथा वित्तीय संस्था, बीमा र जलविद्युत कम्पनीहरुले मात्र आईपीओ निष्कासन गरिरहेका बेला वित्तीय अवस्था राम्रो भएका राम्रो प्रतिफल दिने उत्पादनमुकल उद्योगहरुलाई सेयर बजारमा ल्याउन बुक विल्डिङ विधि ल्याइएको उनले स्पष्टपारे ।
यो पनि पढ्नुहोस ।
प्राथमिक बजारमा बुक विल्डिङ प्रणाली लागु, आईपीओमा न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने
यसमा सहभागी हुने कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउने छन । ठुला कम्पनीहरुले सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ नभई बढी मूल्य लिन पाउने छन । याे विधिमा न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अन्य कम्पनीको हकमा न्युनतम १० कित्ता कायम रहेको उनले बताए । सबैले न्यनतम ५० ५० कित्तासम्म सेयर पाउने छन ।
जस्तै आईपीओमा आउन लागेको मोवाइ सेवा प्रदायक एनसेल, वाइवाइ, ठुला सिमेन्ट र डण्डी उद्योगहरुले वित्तीय अवस्थाका आधारमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न पाउने छन ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नपाए वास्तविक क्षेत्रका राम्रा कम्पनी नआउने भएकाले उनीहरुलाई प्रोत्साहन गर्ने यो विधि लागु गरिएको प्रवत्ता गिरीको भनाई छ । ‘लामो समय दुःख गरेर १०० रुपैयाँमा सेयर बेच्दा उनीहरु आकर्षित नहुन भएकाले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिएको हो’ उनले भने ।
बोर्डले जारी गरिएको निर्देशिकामा संस्थागत लगानीकर्ताका लागि सेयर बिक्री गर्दा कायम भएको कट अफ मूल्यको १० प्रतिशत छुट दिएर सर्वसाधारणमा आइपीओ निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसैगरी, सर्वसाधारणले बुक विल्डिङ विधिबाट आइपीओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । न्यूनतम बाँडफाँट हुने कित्ता पनि ५० नै रहने व्यवस्था विधिमा गरिएको छ ।
बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्नका लागि सेयरको अनुमानित मूल्य तथा मूल्यांकनका आधार र औचित्य खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पारेर योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।
एउटा संस्थागत लगानीकर्ताले कुल निष्कासित सेयरको २० प्रतिशत भन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने भएको छ । संस्थागत लगानीकर्ताका लागि बिक्री गर्दा कायम भएको कट अफ मूल्यका आधारमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिने उल्लेख छ । जसमा संस्थागतमा कायम कट अफको १० प्रतिशत छुटमा बिक्री गरिनेछ ।
कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेशमा प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको विश्लेषण छ ।