काठमाडौं । शेयर बजार मंगलवार १ हजार ४०७ दशमलव ८९ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिनको तुलनामा बजार ५ दशमलव ६८ अंक माथि पुगेको हो ।
अघिल्लो कारोबार दिन सोमवार बजार १ हजार ४०२ दशमलव २१ विन्दुमा बन्द भएको थियो । मंगलवार १ हजार ४०३ दशमलव ९९ विन्दुबाट खुलेको बजार १५ मिनेटभित्रकै कारोबारमा १ हजार ४१४ विन्दुसम्म पुगेको थियो । यस दिन बजार १ हजार ४०० दशमलव ८१ विन्दुसम्म झरेको थियो ।
नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशत बढेको मंगलवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ८ प्रतिशत घटेर २८९ दशमलव ७७ विन्दुमा झरेको छ ।
कारोबार रकम सोमवारको तुलनामा मंगलवार बढी भएको छ । सोमवार रू. १ अर्ब ७ करोड ४९ लाख ३२ हजार बराबरको शेयर कारोबार भएको थियो । मंगलवार भने यो रकम रू. १ अर्ब २३ करोड ९० लाख १७ हजार रहेको छ ।
यस दिन १८९ ओटा कम्पनीको १६ हजार ८०० पटकको व्यापारमा उक्त रकम बराबरको ४१ लाख १४ हजार ५१२ कित्ता शेयर कारोबार भएको हो । यस दिन कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा नागरिक लगानी कोषले ओगटेको छ । कोषको यस दिन रू. १६ करोड ६० लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।
२२ प्रतिशत बोनस पश्चात ८२ दशमलव ८४ प्रतिशत हकप्रद विक्री गर्ने तयारी गरिरहेको कोषको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको देखिन्छ । लागनी कोषको शेयरमूल्य मंगलवार सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशतले बढेको छ । मंगलवार लगानी कोषको अन्तिम शेयरमूल्य रू. २ हजार ९१० कायम भएको छ ।
यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा नागरिक लगानी कोषसँगै साधना लघुवित्त, पञ्चकन्यामाई हाइड्रो र युनियन हाइड्रो पनि छन् । साधना लघुवित्तको ९ दशमलव ९१ प्रतिशत, पञ्चकन्यामाई हाइड्रोको ९ दशमलव ८६ प्रतिशत र युनियन हाइड्रोको ९ दशमलव ४३ प्रतिशतले यस दिन शेयरमूल्य बढेको छ ।
यो दिन सबैभन्दा बढी मूल्य घट्नेमा घलेम्दी हाइड्रो लिमिटेड रहेको छ । घलेम्दीको शेयरमूल्य मंगलवार ६ दशमलव ६७ प्रतिशत घटेर अन्तिम मूल्य रू. ५६ कायम भएको हो । मंगलवार कारोबारमा आएका १२ ओटा समूहमध्ये पाँच ओटा समूहको परिसूचक घटेको छ भने सात ओटा समूहको बढेको छ ।
यस दिन बैंकिङ् समूहको परिसूचक शून्य दशमलव शून्य ४, होटल समूहको शून्य दशमलव ६३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३१ प्रतिशत परिसूचक घटेको छ ।
त्यस्तै व्यापार समूहको १ दशमलव २४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६६ प्रतिशत, अन्य समूहको १ दशमलव ६५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ ।