काठमाडौं । भदौ ४ गतेदेखि रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ निधेषाधाज्ञामा पनि विक्री खुला हुने भएको छ ।
बिहीवारदेखि काठमाडौं उपत्यकामा एक सातासम्मका लागि लागू गरिएको निषेधाज्ञाका बीच पनि ती कम्पनीहरुको आईपीओ विक्री नरोकिने नेपाल धितोपत्र बोर्डले बताएको छ । समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेका हुन् ।
प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको र ७ लाखभन्दा बढी लगानीकर्ताहरुले मेरो शेयर खाता खोली घरमै बसेर आवेदन गर्न सक्ने अवस्था रहेकाले निषेधाज्ञाले आईपीओ विक्रीमा कुनै असर नपर्ने दुवै कम्पनीका विक्री प्रबन्धकहरुको भनाइ छ । रिलायन्स लाइफको विक्री प्रबन्धक सानिमा क्यापिटल र समाज लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ ।
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले उपत्यकाभित्रको निषेधाज्ञाका कारण आईपीओ बन्द गर्दा उपत्यका वाहिरका लगानीकर्ताहरुलाई अन्याय हुने बताए । बैंक तथा वित्तीय संस्थाले निरन्तर सेवा दिइरहेको अवस्थामा पूर्ण प्रविधिमैत्री प्राथमिक बजारको निष्कासन बन्द गर्न नहुने उनले बताए ।
समाज लघुवित्तले प्रतिशेयर रू. १०० अंकित दरको ८६ हजार कित्ता शेयरमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको छ ।
त्यसैगरी रिलायन्स लाइफले प्रतिशेयर रू. १०० अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।
रिलायन्सको आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ भने समाजको छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्मको समय तोकिएको छ ।
रिलायन्सको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्वा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।