काठमाडौं । कोरोना भाइरस महामारीका कारण सरकारले चालु आर्थिक वर्षमा लिएको विद्युत उत्पादनको लक्ष्य पनि पुरा नहुने संभावना बढेको छ ।
कारोना महामारी झनै बढेपछि राजधानी काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको असर निर्माणधिन जलविद्युत आयोजनामा परेको हो । अहिले सम्पन्न हुने अधिकाँश आयोजनाको काम ठप्प भएको छ ।
निर्माण उपकरण विदेशबाट आपूर्ति हुन सकेको छैन । यी आयोजनाको काम ९५ प्रतिशत भन्दा बढी सकिएको छ । काम सुरु हुनसाथ आयोजनाहरुबाट बिजुली उत्पादन हुने छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रणालीमा १ हजार ५०० मेगावाट बिजुली थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
सरकारले सो लक्ष्य लिए पनि नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा १ हजार १५५ मेगावाट मात्र बिजुली थप हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यो पनि कोरोनाको असर कम भई सहज वातावरण बनेपछिको अवस्थामा मात्र संभव हुने प्राधिकरणले जनाएको छ । नत्र यो पनि संभव नहुने विद्युत प्राधिकरणको भनाइ छ ।
सहायक कम्पनीहरुमार्फत निर्माणधिन ३ आयोजना सम्पन्न भई प्रणालीमा ५८१ मेगावाट थप्ने प्राधिकरणको योजना छ । जसअनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जने आयोजना सम्पन्न हुने उसको अनुमान छ ।
यस्तै ४२ मेगावाटको तल्लो सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना यो वर्ष पुरा नहुने देखिएको छ । यो वर्ष ५७४ मेगावाट निजी क्षेत्रबाट थप हुने अनुमान प्राधिकरणको छ । कारोना महामारीका कारण साउनयता प्रणालीमा बिजुली थप भएको छैन । गत आर्थिक वर्षमा निजी तथा सार्वजनिक क्षेत्रबाट गरी १५० मेगावाट बिजुली थप भएको थियो ।
चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको तल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, ५२ मेगावाटको लिखु–४, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको दोर्दी ए, २५ मेगावाटको सिंगटीखोला, ३० मेगावाटको न्यादी, २२ मेगावाटको अपर चाकुखोला, ३० मेगावाटको खानीखोला र २५ मेगावाटको खानीखोला–१ लगायतका आयोजनाहरु रहेका छन ।
माथिल्लो तामाकोसीको काम लगभग सकिए पनि परीक्षणका साथै केही उपकरण आपूर्ति गर्न बाँकी रहेकाले रोकिएको छ । माथिल्लो तामाकोसीको कात्तिकमा ७६ मेगावाटको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यस्तै माघसम्म ६ ओटै युनिट सञ्चालनमा ल्याउने कार्ययोजना तय भएको ऊर्जासचिव दिनेशकुमार घिमिरेले बताएका छन ।
कोरोना महामारीले निर्माणधिन रसुवागढी आयोजना २०७८ असारसम्म सक्ने योजना सार्वजनिक गरिएको छ । रसुवागढी आयोजना २०७५ फागुनमा सक्ने लक्ष्य थियो ।
कोरोना महामारीको असर कति समयसम्म रहन्छ, त्यही आधारमा मात्र आयोजनाहरु सम्पन्न हुने देखिएको छ । कोरोनाको कहर यो वर्षसम्म रहे अधिकाँश आयोजना पुरा हुँदैनन ।आर्थिक वर्ष २०७६/०७७ मा कुल जलविद्युत उत्पादन ११.५० प्रतिशत वृद्धि भई १ हजार ३१८ मेगावाट पुगेको छ ।