काठमाडौ । चालु आर्थिक वर्ष ०७७/०७८ देखि बुटबल पावर कम्पनी (बीपीसी) को नाफा घट्ने भएको छ । बीपीसीले हिमाल पावर लिमिटेडबाट पाउँदै आएको करोडौ रुपैयाँ नगद लाभांशमा गिरावट आएपछि यसको असर नाफामा पर्ने भएको हो ।
६० मेगावाटको खिम्तीमा बीपीसीको १७ प्रतिशत सेयर छ । खिम्तीबाट बीपीसीले वार्षिक ६० करोड रुपैयाँ हारहारीमा नगद लाभांश पाउँदै आएको छ ।
हिमालबाट पाउने लाभांशमा कमी आएपछि चालु आर्थिक वर्षदेखि नाफामा कमी आउने बीपीसीले जानकारी दिएको छ । बीपीसीले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा नाफामा गिरावट आउने उल्लेख छ ।
सम्झौताअनुसार खिम्तीको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा हस्तान्तरण भएको र डलरमा भएको महंगो विद्युत खरिदबिक्री दर (पीपीए) खारेज भई नेपाली रुपैयाँमा सस्तोमा हुने भएपछि यसको असर नाफामा पर्ने बीपीसीले जनाएको छ ।
गत आर्थिक वर्षमा बीपीसीको नाफा ४.९२ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा बीपीसीले ७२ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बीपीसीले ७६ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
यो वर्षदेखि आँधिखोला र झिम्रुक आयोजनाका साथै केही लाभांश हिमालबाट पाउने छ । यस्तै निर्माणधिन ३० मेगावाटको न्यादी आयोजना कोरोना महामारीका कारण सम्पन्न हुन ढिलाइ भएको छ ।
गत असार २७ गतेदेखि विद्युत प्राधिकरण र हिमाल पावरबीचको सम्झौता सकिएको छ । हिमाल र विद्युत प्राधिकरणबीच नयाँ कम्पनी गठन र पीपीए दरमा छलफल भइरहेको बीपीसीले जनाएको छ । विद्युत प्राधिकरणले असार २६ गतेसम्म हिमाल पावरलाई बिजुली खरिदवापत डलरमा भुक्तानी गरेको छ ।
रोयल्टी शुल्क समेत गरी खिम्तीको बिजुली प्रतियुनिट २१ रुपैयाँसम्म पुगेको छ । अहिले डलर महंगिएकाले पनि प्राधिकरणले हिमाल पावरलाई तिर्नुपर्ने दायित्व बढेको छ ।
अरुण तेस्रो आयोजनाको अवसानपछि खिम्ती जलविद्युत निर्माण भएको हो । सन २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।
आयोजनाले सन २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा बीपीसी, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ ।
त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।