काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी–त्रिशूली–मै लुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको स्थलगत निरीक्षण गरेका छन्। गत असार २४ गतेको बाढीले यस सडक खण्डमा पुर्याएकाे क्षतिको अवलोकन र पुनर्निर्माण कार्यको प्रगतिको जानकारी लिन मन्त्री दाहालसहितको टोली नेपाल–चीन सिमानामा रहेको बाढीले बगाएको मितेरी पुलसम्म पुगेको हो।
गत असार २४ गतेको भीषण बाढीले स्याफ्रुबेसी–रसुवागढी खण्डमा व्यापक क्षति पुर्याएको थियो, जसमा बैतरणी पुलसमेत बगाएको थियो। करिब १६ किलोमिटर लामो यो खण्डमा क्षति पुगेपछि मर्मत कार्य गरी एक हप्ताभित्रै यातायात सञ्चालनमा ल्याइएको थियो।
मन्त्री दाहालले निर्माणाधीन सडकको कामलाई तीव्रता दिन र नदीबाट हुने क्षति नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन्।
मितेरी पुल र दशैंका लागि सामान आयातको अपेक्षा
निरीक्षणका क्रममा उनले चीनतर्फ रोकिएका नेपालीहरूको अवस्थाबारे पनि चासो राखेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपालीहरूलाई स्वदेश फर्काउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन्।
सडक विभागका महानिर्देशक विजय जैसीले मितेरी पुलको निर्माण कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने जानकारी दिँदै भने, ‘चिनियाँले बेली ब्रिजको काम सुरु गरिसकेका छन्, दशैं अगावै पुलको काम सम्पन्न गरेर दशैंका लागि सामग्री ल्याउन सकिनेछ।’ यसले आगामी चाडपर्वहरूमा आयातमा सहजता आउने अपेक्षा गरिएको छ।
मन्त्री दाहालको निरीक्षणपछि स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको दीर्घकालीन स्तरोन्नतिमा जोड दिइएको छ। निकट भविष्यमा यो सडकलाई दोहोरो लेनको अस्फाल्ट हाइवेको रूपमा स्तरोन्नति गरिनेछ, जसमा चीन सरकारले अनुदान सहयोग गर्नेछ। सडक स्तरोन्नतिको काम छिट्टै सुरु हुनेछ।
सडक डिभिजनका सुइ शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भइरहेको जानकारी दिएका छन्। यसले यस महत्वपूर्ण व्यापारिक मार्गको निरन्तर सञ्चालन सुनिश्चित गर्नेछ।