काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ मा वस्तु व्यापार घाटा १६.८ प्रतिशत विन्दुले कमी आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण आयातमा कमी आउँदा व्यापार ब्यापार घाटा संकुचन भइ १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष २०७५/०७६ मा यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात २९.२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशत घटेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । कोरोना महामारीले आयात कम भएपछि नेपालको वाह्य क्षेत्र भने मजवुत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको समष्टिगत आर्थिक परिदृष्य सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ । अघिल्लो बर्ष शोधनान्तर ६७ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक थियो।
निर्यात ब्यापार कम भएपनि आयातमा भारी गिरावट आएको रेमिट्यान्स् आप्रवाहमा सामान्य कमी आएकाले ०७७ असारसम्म शोधनान्तर वचत उच्च हुन पुगेको हो । यो हालसम्मकै सर्वाधिक वचत हो । मूल्य बृद्धि बढेर ६.१५ प्रतिशतमा पुगेको छ। अघिल्लो बर्ष मूल्य बृद्धि दर ४.६४ प्रतिशत मात्र थियो।
चालु खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुर्पैयाँमा सीमित भएको छ। अघिल्लो बर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ थियो।
यसैगरी विदेशी विनिमय सञ्चिति ३५ प्रतिशत बढेर १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। डलरमा ९ अर्ब ५० करोड डलरबाट बढेर ११ अर्ब ६५ करोड पुगेको छ। बिदेशी मुद्रा सञ्चितिमा भारुको अंश २२.८ प्रतिशत छ। अहिलेको सञ्चितिले १४.४ महिनाको बस्तु र १२.७ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्छ।