काठमाडौं । चालु आर्थिक वर्ष ०७७/७८ को पहिलो महिना साउनमा देशघर घरजग्गाको किनबेच २२ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार साउन महिनाभरी देशभर ३७ हजार ९ सय ७० घरजग्गा किनबेच भएका छन् जबकी गत वर्षको सोही महिनामा ४८ हजार ६ सय ११ घरजग्गा किनबेच भएका थिए ।
विभागको तथ्यांकले चालु आर्थिक वर्षमा पनि घरजग्गा किनबेच सुस्ताउने स्पष्ट संकेत देखाएको छ । कोभीड संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका ९ वटै मालपोत कार्यालयबाट साउन २८ देखि भदौ १५ गतेसम्म घरजग्गा किनबेचको काम पुनः रोकिएको छ ।
यसअघि ११ चैत ०७६ देखि २५ जेठ ०७७ सम्म देशभरका १२६ वटै मालपोत कार्यालय बन्द थिए । अढाई महिना कारोबार ठप्प हुँदा अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै साढे लाख घरजग्गा कम किनबेच भएको थियो ।
विभागले अहिले काठमाडौं उपत्यका बाहिर रहेका मालपोत कार्यालयहरुको हकमा सेवा प्रवाहका लागि प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।
काठमाडौंमा साढे ४ हजार घरजग्गा किनबेच
साउन महिनामा काठमाडौं उपत्यकामा ४ हजार ४ सय ७२ घरजग्गा किनबेच भएका छन् । गत वर्षको साउनमा काठमाडौं उपत्यकामा ७ हजार ३ सय ३९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । कोभीडको कहर काठमाडौं उपत्यकाको घरजग्गा किनबेचमा अलि बढी देखिएको छ ।
झापाका दुईवटा मालपोत कार्यालयबाट भद्रपुर मालपोतबाट २४ सय ८३ घरजग्गा किनबेच भएका छन भने मोरङका तीनवटा मालपोत कार्यालयबाट २४ सय ५६, सुनसरीमा १२ सय ९७, सिराहाका दुईवटा मालपोत कार्यालयबाट १३ सय ८२, धनुषामा १३ सय ४३ र दाङका तीनवटा मालपोत कार्यालयबाट २६ सय २२ घरजग्गा किनबेच भएका छन् ।
साउन महिनमा १९ वटा अपार्टमेन्ट किनबेच भएका छन् जसमध्ये ८ वटा काठमाडौं, १० वटा ललितपुर र एउटा झापामा रहेका छन् । गत वर्षको साउन महिनामा ६१ वटा अपार्टमेन्ट किनबेच भएको विभागको तथ्यांकले देखाउँछ । गत वर्ष कामाडौंमा ३३ र ललितपुरमा २८ अपार्टमेन्ट किनबेच भएका थिए ।
कुल राजश्व २ अर्ब ७३ करोड संकलन
साउन महिनामा घरजग्गा क्षेत्रबाट २ अर्ब ७३ करोड ३० लाख रुपैयाँ राजश्वक संकलन भएको छ जसमध्ये सेवाकर २० करोड रुपैयाँ उठको छ भने रजिष्ट्रसेसन दस्तुर १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ ।
यस्तै, बागमति सभ्यता शुल्कवापत ८ करोड ९ लाख रुपैयाँ र पुँजीगत लाभकर ६१ करोड ५८ लाख रुपैयाँ उठेको विभागको तथ्यांकले देखाउँछ ।
कुल राजस्वमध्ये काठमाडौं उपत्यकाबाट मात्र १ अर्ब ७ करोड ९४ लाख रुपैयाँ संकलन भएको छ जसमध्ये ८ करोड ६७ लाख, रजिष्ट्रेसन शुल्क ६९ करोड ६ लाख रुपैयाँ, पुँजीगत लाभकर ३१ करोड ४५ लाख रुपैयाँ उठेको छ । बाँकी राजश्व अरु विभिन्न शिर्षकमा संकलन भएको छ ।