काठमाडौं । लगानीकर्ता प्रविधिमा अभ्यस्त हुन थालेपछि सेयर बजार निरन्तर बढेको छ । बुधबार सेयर बजार २१ अंकले बढेको छ । बजार बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार ४६२ अंकमा पुगेको छ ।
अनलाइन कारोबार सुरु भएपछि सेयर बजार निरन्तर उकालो लागेको छ । लगानीकर्ताहरुले अनलाई सेयर कारोबार माग्दै आएका थिए । यस्तै बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा सेयर बजार बढेको हो । बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ अधिक तरलता हुँदा कर्जाको ब्यादर घटेर एकल अंकमा आएको छ ।
ब्याजदर घट्दो अवस्थामा रहेकाले पनि बजारलाई साथ दिएको छ । यद्यपी सेयर बजार र बैंक ब्याजदरबीच जहिले पनि सम्बन्ध हुने गर्छ । ब्याजादर बढ्दा बजार घट्ने ब्याजदर घट्दा सेयर उकालो लाग्ने हुन्छ ।
बुधबार २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएको छ । बुधबार पनि सदाको झै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानीकर्ता झम्मिएका छन ।
नेपाल रिको प्रतिकित्ता ७१२ रुपैयाँमा ३४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेकोको ७५५ रुपैयाँमा १३ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३६२ मा १२ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर बीमा कम्पनीहरुको कारोबार भएको छ ।
बुधबार व्यापार र जीवन बीमा परिसुचक घटेको छ । यस्तै बैंक तथा वित्तीय संस्था, जलविद्युत, निर्जीवन बीमा, उत्पादन, होटल र म्युचअल फण्डको परिसूचक बढेको छ ।
