व्यावसायिक कम्पनीले विकास गरेका हाउजिङ तथा अपार्टमेन्ट होस् वा व्यक्तिले बनाएका घर, सबैमा वास्तु उत्तिकै महत्त्वपूर्ण हुन्छ । ‘वास्तु’ विशुद्ध रूपमा मान्छेको शरीर र प्राकृतिक ऊर्जाबीच सन्तुलन कायम गर्ने विज्ञान हो । यसैले घर वा कार्यस्थल होस्, त्यहाँको वास्तु राम्रो भए व्यक्तिको शरीर स्वस्थ रहनुका साथै मन–मस्तिष्क चैतन्य हुन्छ ।
चैतन्यमन–मस्तिष्क र स्वस्थ शरीरले सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै व्यक्तिको उत्पादकत्व र कार्यकुशलता बढाउँछ, यो नै कुनै पनि व्यक्ति तथा परिवारको खुशी र सफलताको आधारभूत सूत्र हो । यसकारण घर बनाउँदा वा खरिद गर्दा वास्तुअनुरूप भएरनभएको विचार पुर्याउन जरुरी छ ।
घर वास्तु प्रतिकुल भए व्यक्ति तथा परिवारका सदस्यको शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यापारमा अपेक्षित परिणाम सकारात्मक नहुने सम्भावना अधिक हुन्छ । वास्तुअनुसार घर र जग्गालाई व्यवस्थापन गर्न सके व्यक्तिको जीवन सरल र सफल बन्न सक्छ ।
तर, सबै ठाउँमा वास्तु शतप्रतिशत नमिल्ने हुँदा यस्तो किसिमको घर वा अपार्टमेन्ट मात्रै किन्ने भन्नु उपयुक्त हुँदैन । त्यसैले सकभर धेरै पक्ष वास्तुअनुकूल छरछैन भन्ने कुरामा ध्यान दिनुपर्छ । कम्तीमा यी कुराहरू भएको सकभर नकिन्नुस् भन्नु बढी सान्दर्भिक हुन्छ ।
उसो भए वास्तुअनुसार कस्तो घर वा अपार्टमेन्ट खरिद गर्ने, वा नगर्ने त ?
हाउजिङ र अपार्टमेन्टमा धेरै कुराहरू मिल्छन् । यद्यपि, अपार्टमेन्टमा पानी ट्याङ्की र सेफ्टी ट्याङ्की केन्द्रीकृत गरिएको हुन्छ, जुन हाउजिङमा नहुन पनि सक्छ । व्यावसायिक रूपमा बनाइएका हाउजिङ परियोजनाका घर एउटै लाइनमा प्रायः उस्तै डिजाइन, दिशा र मोहडामा बनेका हुने भएकाले एउटा घरको वास्तु ठीक हुँदा त्यो ‘रो’ मा रहेका सबैको ठीक र बेठीक हुँदा सोहीअनुसार गलत हुन्छ ।
त्यसैले घर किन्दा यो पक्षलाई ग्राहकले मनन गर्नुपर्ने हुन्छ । अपार्टमेन्टमा पनि अधिकांश एकाइमा उही डिजाइन, मोहडा, दिशा आदि दोहोरिने गर्दछ ।
घर किन्दा विचार गर्नुपर्ने सबैभन्दा पहिलो कुरा ‘कम्पाउण्ड गेट’ र त्यससँगै ‘मूलढोका’ पनि हो । कम्पाउण्ड गेट वा मूलढोका दक्षिणपश्चिम दिशामा छ भने त्यस्तो घरमा बस्ने व्यक्तिलाई अनेक किसिमका तनाव आइपर्नुका साथै पैसाको सह हुँदैन ।
घरको दक्षिणपश्चिम दिशामा गेट भए पनि कुनामा च्यापिएको भने हुनु हुँदैन । घर दक्षिणपश्चिम दिशामा फर्किएको छ भने कम्पाउण्ड गेट र मूलढोकाको दिशा फरक हुनुपर्छ । अपार्टमेन्ट किन्दा भने मूल ढोकाबारे बढी ध्यान दिनुपर्छ, तर अपार्टमेन्ट परिसर छिर्ने मूलगेटलाई पनि नजरअन्दाज गर्न भने हुँदैन ।
ख्याल गर्नुपर्ने दोस्रो कुरा ‘शौचालय’ हो । सकेसम्म शौचालय घरको उत्तरपूर्वी दिशामा हुनु हुँदैन । वास्तु विज्ञानमा यो पक्ष सबैभन्दा घातक मानिन्छ । यस दिशामा शौचालय भएको घरका कुनै न कुनै सदस्यलाई क्यान्सर हुने सम्भावना ९२ प्रतिशत हुने मेरो अध्ययनको ठहर छ ।
घरको कुनै कोठाभित्र उत्तरपूर्वी दिशामा अट्याच बाथरूम भए उक्त कोठामा बस्ने व्यक्तिलाई मात्र प्रभाव पार्छ । सम्पूर्ण घरकै उत्तरपूर्वमा शौचालय बनाइएको छ भने त्यसले पूरै परिवारलाई असर गर्छ । त्यसैले शौचालय कहाँ छ भन्ने घर वा अपार्टमेन्ट खरिद गर्दा राम्ररी ख्याल गर्नुपर्छ ।
यस्तै, मास्टर बेडरूम उत्तरपूर्व दिशामा हुनु हुँदैन । यस दिशाको बेडरूममा सुत्ने दम्पतीबीच कहिल्यै पनि कुरा मिल्दैन, किचलो भइरहने र यो परिस्थिति बढेर सम्बन्धविच्छेदसम्म पुग्न सक्ने प्रवल सम्भावना रहन्छ ।
घरको भान्छा उत्तरपूर्व र दक्षिणपश्चिम दिशामा हुनु हुँदैन । उत्तरपूर्व ऊर्जा आउने र दक्षिणपश्चिम सञ्चित हुने ठाउँ भएकाले यी स्थान बिगार गर्नु हुँदैन । उत्तर र पूर्व दुवै दिशाबाट महत्त्वपूर्ण ऊर्जा आउँछ । पूर्वबाट ‘लाइफफोर्स इनर्जी’(प्राणिक वायु) आउँछ, जसले मानिसलाई स्वस्थ राख्न सकारात्मक भूमिका खेल्छ ।
यस्तै, उत्तर दिशाबाट आउने भू–चुम्बकीय ऊर्जा (जिओ–म्याग्नेटिक इनर्जी) ले मान्छेको मनलाई शान्त राख्ने, सकारात्मक सोच प्रवाह गर्ने र तर्क गर्ने क्षमताको विकासमा मद्दत गर्छ । यो ऊर्जा उत्तरबाट दक्षिण बग्छ । भान्छामा आगो बालिने भएकाले यसले उत्तरपूर्व दिशाबाट आउने ऊर्जालाई नष्ट गरिदिन्छ । त्यसकारण यो कोणमा भान्छा निर्माण गर्नु हुँदैन । त्यसैगरी, उत्तरपूर्व दिशाबाट आउने ऊर्जा दक्षिणपश्चिममा सञ्चित हुने भएकाले यहाँ भान्छा निर्माण गर्नु हुँदैन ।
बच्चाको कोठा पनि दक्षिणपश्चिम दिशामा फर्किएको हुनु हुँदैन । यो दिशामा ‘राम्रो’ ऊर्जा सञ्चित हुने गर्दछ । यदि यहाँ बच्चाको कोठा बनाइयो भने सबै बालकको उमेर, शारीरिक विकास र मस्तिष्कको अवस्थाअनुरूप आवश्यकभन्दा बढी ऊर्जा उसले खपत गर्ने स्थिति हुन्छ । जसले गर्दा बच्चा बढी जिद्दी, रिसाहा आदि हुन सक्छ ।
घरको दक्षिणपश्चिममा इनार हुनु शुभ मानिँदैन । यो दिशामा इनार खनिएको वा बनाइएको छ भने परिवारका सदस्यहरू ठूलो ऋणमा फस्ने, दुर्घटनामा परेर मृत्यु हुन सक्नेसम्मको घटना हुन सक्छ । यस्तै, घरको उत्तरपूर्वी दिशामा सेप्टी ट्याङ्की बनाएको छ भने आउने पुस्तालाई निकै पिरोल्नेछ । त्यस्तो घरमा जन्मिएको बच्चा अपाङ्ग हुन सक्ने सम्भावनासमेत रहन्छ ।
घरका लागि अशुभ जग्गा
त्रिकोण वा अन्य अनियमित आकारका जग्गा वा त्यस्तो जग्गामा बनेका घर बिल्कुलै नकिन्ने । यदि जग्गा (प्लट) त्रिकोण आकारको छ भने घरका सदस्यहरू तितरबितर नै हुन सक्छन् । वास्तुअनुसार पूर्वी मोहडाको घर सबैभन्दा राम्रो हुन्छ, त्यसपछि उत्तर फर्किएको ।
उत्तरपूर्व दिशामा काटिएको र टेडो गएको जग्गा वा त्यस्तो जग्गामा बनेको खरिद गर्नु हुँदैन । उत्तरपूर्वी दिशाको कोण ९० डिग्रीभन्दा बढी भएको जग्गा राम्रो मानिंदैन । तर, यो दिशामा जग्गा ९० डिग्रीभन्दा कम भएको, केही फुकेको वा बढेको छ भने असाध्यै राम्रो हुन्छ ।
ख्याल गर्नुपर्ने अर्को पक्ष, छिमेकीको घरको कुना आफ्नो घरको गेटमा परेको अशुभ हो । यस्तो अवस्थाको घरमा विभिन्न बिघ्न–बाधाहरू उत्पन्न भइरहन्छन् । यदि आफ्नो घर वा जग्गाको दक्षिणपश्चिम कुनामा खाल्डो पारेर पानी राखिएको छ, जस्तै फाउण्टेन, पानीको रिजर्भ ट्यांकी आदि छ भने त्यसलाई पनि राम्रो मानिंदैन ।
लेखकः वास्तुशास्त्री ऋषि घिमिरे हुन् ।