काठमाडौं । विश्व बजारमा अमेरिकी डलर कमजोर हुँदै गएको छ । डलर कमजोर भएपछि नेपाली रुपैयाँ मजवुत भएको हो । नेपाल राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११७ रुपैयाँ ७२ पैसा बिक्रीदर तोकेको छ । अघिल्लो साता १२० रुपैयाँको हारहारीमा थियो । एक साताका बीचमा नेपाली मुद्रा ३ रुपैयाँ बलियो भएको छ ।
भारतीय अर्थतन्त्रमा केही सुधार आएपछि भारु बलियो भएको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले सोमबार १ डलर बराबर ७३.३५ भारु बिक्री दर तोकेको छ । भारुसंग नेपाली रुपैयाँको स्थिर विनियमदर छ । भारु बलियो हुनसाथ नेपाली रुपैयाँ पनि मजवुत हुन्छ, कमजोर भए यसको असर नेपाली रुपैयाँमा पर्छ ।
पछिल्लो समय चीनको अर्थतन्त्र विस्तारै रिभाईभ भइरहेको छ । यसले डलरलाई कमजोर बनाएको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । उनका अनुसार विश्वका लगानीकर्ताहरुमा सुन तथा डलरप्रति लगानीको झुकाव थियो । त्यो विस्तारै कमोडिटिजतिर जान थालेको छ ।
लगानीकर्ताहरु अमेरिकाको चुनावलाई पर्ख र हेरको अवस्थामा छन् । चुनाव आइरहेको छ । यसले पनि अमेरिकी डलरलाई कमजोर बनाएको हुनसक्ने प्रवत्ता डा. भट्ट बताउँछन । अमेरिकामा नयाँ नेतृत्व आएपछि अमेरिकी लगानीको वातावरण कसरी अघि बढ्छ भन्ने सर्वत्र चासो रहको उनको भनाई छ ।
‘चिनियाँ अर्थतन्त्र तंग्रिँदै जानु नै डलर कमजोर हुनु हो । चीनका कारण विश्व अर्थतन्त्र धेरै संकुचनमा जादैन भन्ने हो’ उनले भने ‘चिनियाँ अर्थतन्त्र रिभाइभ हुनु भनेको विश्व अर्थतन्त्रले गति लिनु हो ।’
गएको मे तिर जसरी कमोडिटी बजार ‘कोल्याप्स’ नै भयो भन्ने थियो । अहिले त्यस्तो छैन् उनले भने पेट्रोलियम पदार्थको मूल्य निकै तल झर्यो भन्ने थियो, अहिले स्थिर छ ।
डलर कमजोर हुनुमा भारतको बाह्य क्षेत्र स्थिति बलियो हुनु हो । भारतको बाह्य क्षेत्र बलियो हुनु भनेको भारतीय रुपैयाँ बलियो हुनु हो । भारु बलियो हुने बित्तिकै नेपाली रुपैयाँ बलियो हुन्छ । अहिले यो पनि कारण भएको उनको तर्क छ ।
भारतमा गएको अप्रिलतिर ‘क्यापिटल आउटफ्लो’ जस्तो देखिएको थियो । त्यो कारणले गर्दा डलरको मूल्य बढेको थियो । त्यसबेला उदयिमान अर्थतन्त्रहरुबाट ९५ अर्ब डलर लगानी अमेरिका फर्केको थियो ।
डलरको मूल्य घट्दा नेपाललाई ठूलो फाइदा पुग्छ । किनभने, नेपालले भोलि ठूलो परिमाणमा आयात गर्नुपर्ने हुन्छ । आर्थिक क्रियाकलाप विस्तार गर्नुपर्छ । आर्थिक क्रियाकलाप विस्तारमा यसले मार्ग प्रसस्त गर्छ । आयातित वस्तुको मूल्य सस्तो बनाउने काम गर्छ ।
नेपालले लिएको बैदेशिक ऋणको ठूलो ब्ययभार बढ्दै गइरहेको अवस्थामा डलरको मूल्य ओरालो लाग्दा त्यसले दायित्व कम गराउँ छ ।
नेपालका उद्योगहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर यहाँ तयारी वस्तु बनाउने गर्छन । त्यसमा पनि डलरको मूल्य ओरालो लाग्दा फाइदा हुन्छ ।
नकारात्मक
डलर कमजोरले रेमिट्यान्स आप्रवाहमा केही असर गर्न सक्छ । किनभने, १२०÷१२१ रुपैयाँ हुँदा जुन गतिमा रेमिट्यान्स आइरहेको थियो । त्यसमा केही असर पर्न सक्छ । कामदारहरुले पछि डलरको मूल्य बढ्ने आशमा उतै पैसा होल्ड गर्न सक्छन् । यदि सामान्य अवस्था भएको भए यसले रेमिट्यान्स भित्रिन केही असर गर्न सक्छ ।
निर्यात
नेपालबाट निर्यात हुने वस्तुको हिस्सा एकदमै थोरै छ । त्यसमा धेरै असर नपर्न सक्छ । जति डलरको मूल्य घट्दा अर्थतन्त्रमा सकारात्मक असर पर्छ, त्यसको तुलनामा निर्यात अर्थतन्त्रमा खासै असर पर्दैन ।