काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीहरुमध्ये २२ ओटाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
अझै ११ ओटा जलविद्युत कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । गत आर्थिक वर्ष १२ ओटा कम्पनीहरुको नाफा बढेको छ भने ८ ओटाको घटेको छ ।
वित्तीय विवरण सार्वजनिक गर्नेहरु मध्ये सबैभन्दा बढी नाफा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गरेको छ । गत आर्थिक वर्षमा चिलिमेले ०.२५ प्रतिशत मात्र नाफा बढाएर ७४ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष चिलिमेले ७४ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
यसपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) भएको छ । बीपीसीको नाफा गत आर्थिक वर्षमा ४.९४ प्रतिशत घटेर ७२ करोड २९ लाख रुपैयामा सीमिति भएको छ । अघिल्लो आर्थिक वर्षमा बीपीसीले ७६ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
सबैभन्दा धेरै नाफा बढाउनेमा अरुण कावेली पावर लिमिटेड रहेको छ । अरुण कावेलीको नाफा १३६६ प्रतिशत बढेर १० करोड ९६ लाख रुपैयाँ पुगेको छ । यस्तै हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा ७४६ प्रतिशत बढेर ४२ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
यसैगरी सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा ५९.३२ प्रतिशत बढेर ३६ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २३ करोड १२ लाख रुपैयाँ खुदनाफा गरेको थियो । नाफा बढेकाले चालु आर्थिक वर्षमा सानिमामाईका लगानीकर्ताले लाभांश बढी पाउने संभावना छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको नाफा ७४.२३ प्रतिशत बढेर १० करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सिनर्जीको नाफा ६ करोड २७ लाख रुपैयाँ थियो ।
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुको प्रमुख सूचकहरुमा क्रमशः सुधार हुँदलै गएको देखिन्छ । बिजुली बेचेर प्राप्त हुने आम्दानी बढेपछि नाफामा सुधार हुँदै गएको हो । यस्तै प्रतिसेयर आम्दानी पनि औसतमा छ ।
कुन कम्पनीको नाफा कति ?
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड ३ करोड १० लाख घाटामा, अपि पावर कम्पनी लिमिटेड ९ करोड ५७ लाख नाफामा, अरुण भ्याली ७ करोड २८ लाख नाफामा, छ्याङदी १ करोड १० लाख नाफामा, दिब्यश्वरी ४ करोड ३४ लाख नोक्सानमा, कालिका पावर ५ करोड १९ लाख नाफामा, माउन्टेन हाइड्रो ६ करोड ६७ लाख नोक्सानमा, राधि विद्युत कम्पनी ७ करोड ४० लाख नाफामा र रैराङ १ करोड २४ लाख नाफामा रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै रसुवागढी ६ करोड ९२ लाख नोक्सानमा, रिडी हाइड्रोपावर ३ करोड ४४ लाख नाफामा सान्जेन जलविद्युत २ करोड १४ लाख नोक्सानमा, युनियन हाइड्रोपावरको १ करोड ७४ लाख, युनाइटेड मोदीको नाफा ३९.४६ प्रतिशत घटेर ५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
अपर तामाकोसी हाइड्रोपावर ६ करोड ९४ लाख रुपैयाँ नोक्सानमा छ भने पाँचथर पावर कम्पनी लिमिटेडको नाफा बढेर ८ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।
नेप्सेमा सूचिकृत मध्ये अपर तामाकोसी, रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आयोजना सम्पन्न गरेर बिजुली उत्पादन नगरेकाले नोक्सानमा गएका हुन ।
असार मसान्तसम्म आइपुग्दा १० जलविद्युत् कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा सिनर्जी पावर कम्पनी रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६६ पैसाले बढेर १५ रुपैयाँ ६३ पैसा पुगेको छ ।
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा भने बुटवल पावर कम्पनीको छ । असार मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९४ पैसा छ । यता, ६ कम्पनीको भने प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ ।