काठमाडौं । डा. युवराज खतिवडाको पुनः अर्थमन्त्री बन्ने योजना सकिएको छ । सरकारले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेपछि उनी अर्थमन्त्री नहुने निश्चित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय बमोजिम गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएको जानकारी गराएका छन ।
अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभाको पदावधि २० गतेबाट सकिँदै छ । राष्ट्रिय सभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।खतिवडा अर्थसँगै सञ्चार मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । राष्ट्रिय सभामा एक मात्र पद बाँकी रहेको थियो । यद्यपी मनोनितमा परेका कुनै पनि सांसदलाई पदबाट राजीनामा गर्न लगाएर त्यस ठाउँमा डा. खतिवडालाई मनोनित गर्ने संभावना भने अझै टेरको छैन । यो बाटोबाट खतिवडा पुनः अर्थमन्त्री बन्ने संभावना पनि त्यत्तिकै छ ।
उपाध्यक्ष गौतमले रिक्त पदमा दावी गरेपछि डा. खतिवडाको अर्थमन्त्री बन्ने योजना असफल भएको हो । यसअघि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको सांसद पदमा गौतमलाई लैजान सिफारिसको निर्णय गरेको थियो ।
केही दिनअघि मात्र गौतमले पार्टीको पूर्वनिर्णय कार्यान्वयनको माग गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए ।
पार्टीभित्रको आन्तरिक विवाद र गुटभित्रै पनि खतिवडाको विपक्षमा माहोल खडा भएपछि प्रधानमन्त्री ओलीको समेत खतिवडालाई मनोनयन गर्ने योजना असफल भएको हो । अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित अधिकाँश सचिवालय सदस्य खतिवडाको विपक्षमा थिए ।
गत फागुनदेखि नै एक स्थान रिक्त छ । यसअघि सभामा मनोनित खतिवडाको कार्यकाल गोलाप्रथाबाट कायम गर्दा दुई वर्ष परेको थियो । गत फागुन २१ गते नै कार्यकाल सकिएको थियो ।
डा. खतिवडा दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर र बजेट निर्माण प्रक्रियामा सहभागी हुँदै आएको थिए ।
विद्धान व्यक्ति अर्थमन्त्री भएकाले उनले आगामी दिनमा लिने नीति तथा कार्यक्रमले अर्थतन्त्रले नयाँ फड्को मार्ने जुन अपेक्षा जनतामा थियो । त्यसलाई उनले पुरा गर्न सकेनन ।