काठमाडौं । निजी ल्यावमा कोरोना परीक्षण गराई पोजेटिभ देखिए बीमा कम्पनीहरुले दावी भुक्तानी नगर्ने भएका छन ।
पछिल्लो समय खुलेका निजी ल्यावहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बीमा समितिले अंकुश लगाएको हो ।
समितिले निजी ल्यावमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बीमा कम्पनीहरुलाई सर्कुल जारी गरेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा भुक्तानीका लागि निजी ल्यावहरुले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जि काम गरेको फेला परेपछि दावी भुक्तानीमा कडाई गरिएको बताए ।
सरकारी स्वामित्व वा सरकारी मान्यता प्राप्त अस्पताहरुबाट जाँच गरिएको रिपोर्ट अनुसार मात्र भुक्तानी गर्न भनिएको उनले जानकारी दिए ।
संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बीमा गरिएको छ । कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकोले पछिल्लो समय धेरैले यस्ता फर्जि रिपोर्टहरु बनाएको खुलेपछि बीमा समितिले कडाई गरेको हो ।
निजी क्षेत्रको विद ल्यावले ४ हजार रुपैयाँमै कोरोना परीक्षण गराउदै आएको छ । सरकारले अहिले कोरोना परीक्षण ४५ सय रुपैयाँ तोकेको छ । सरकारले तोकेको भन्दै ५०० रुपैयाँ सस्तोमा गर्दै आएको विदको परीक्षणमै अहिले प्रश्न उठेको छ ।
कोभिडको दाबी भुक्तानी दिँदा सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला । निजी ल्याव तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला समितिले कम्पनीहरुलाई दिएको निर्देशनमा भनिएको छ ।
कोरोना बीमा मापदण्ड २०७७ मा सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ।