काठमाडौं । निजी लगानीमा निर्माणधिन १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । कास्कीको मादी खोलामा निर्माण भएको आयोजनाबाट उत्पादन सुरु गरिएको हो ।
अहिले आयोजनाका संरचनामा पानी भरेर आन्तरिक परीक्षण भइरहेको प्रवर्द्धक हिमालयन ऊर्जा कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीले बताए ।
उनकका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत विद्युतगृहदेखि माथिल्लो मार्दी आयोजनाको स्वीचयार्डमार्फत लेखनाथ सबस्टेसनमा जोडिएको छ ।
उनले प्राविधिक टोलीले परीक्षण गरेपछि औपचारिकरूपमा आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा जोडिने बताए ।१५ दिनको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु गरिने पनि भण्डारीले जानकारी दिए ।
कोरोना महामारीको असरले आयोजनाबाट लक्ष्यभन्दा ६ महिना ढिलो गरी उत्पादन सुरु भएको हो । २०७३ सालबाट निर्माण सुरु भएको आयोजना प्राकृतिक प्रकोप तथा कोरोना महामारीका कारण लक्ष्यभन्दा ढिलो गरी सम्पन्न भएको छ ।
आयोजनाका लागि २ अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिए पनि उत्पादन सुरु भएपछि मात्रै यकिन लागत आउने कम्पनीले जनाएको छ ।
आयोजनामा ५ बैंकको ऋण लगानी छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी पनि गरेको छ ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि साढे २२ करोड रुपैयाँको साढे २२ लाख कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिने भण्डारीले जानकारी दिए ।
आयोजना प्रभावित स्थानीयका लागि स्वपुँजी लगानीको १० प्रतिशत हुन आउने ९ करोड रुपैयाँ मूल्यको ९ लाख कित्ता र सर्वसाधारणका लागि १५ प्रतिशत हुन आउने साढे १३ करोड मूल्यको साढे १३ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिने छ ।