काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता ३ आयोजना सम्पन्न भई प्रणालीमा १६ मेगावाट बिजुली थप भएको छ । निजी लगानीको १२ मेगावाटको नामार्जुन मादी, ३ मेगावाटको रावाखोला र १ मेगावाटको हाँडिखोला साना जलविद्युत आयोजना सम्पन्न भएका हुन ।
चालु आर्थिक वर्षमा सरकारले डेढ दर्जन बढी आयोजना सम्पन्न गरी प्रणालीमा १ हजार ५०० मेगावाट बिजुली थप गर्ने योजना सार्वजनिक गरेको छ ।
यो वर्ष जडित क्षमता ३ हजार मेगावाट पुर्याउने महत्वकाँक्षी योजना सरकारको छ । कोरोना भाइरस महामारीका कारण सरकारको यो लक्ष्य पुरा नहुने संभावना बढेर गएको छ । कोरोनाको संक्रण बढी रहेकाले आयोजनाहरुको काम प्रभावित छन ।
नामार्जुन मादीले परीक्षण उत्पादन सुरु गरेको छ । अयाोजना कास्कीको मादी खोलामा छ । अहिले आयोजनाका संरचनामा पानी भरेर आन्तरिक परीक्षण भइरहेको प्रवद्र्धक हिमालयन ऊर्जा कम्पनीका सञ्चालक कृष्णप्रसाद भण्डारीले बताए ।
उनका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत विद्युतगृहदेखि माथिल्लो मार्दी आयोजनाको स्वीचयार्डमार्फत लेखनाथ सबस्टेसनमा जोडिएको छ । १५ दिनको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु हुने भण्डारीले जानकारी दिए ।
२०७३ सालबाट निर्माण सुरु भएको आयोजना प्राकृतिक प्रकोप तथा कोरोना महामारीका कारण लक्ष्यभन्दा ढिलो गरी सम्पन्न भएको छ । आयोजनाका लागि २ अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा ५ बैंकको ऋण लगानी छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी पनि गरेको छ । साढे २२ करोड रुपैयाँको साढे २२ लाख कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिने भण्डारीले जानकारी दिए ।
यसैगरी निजी लगानीमा ३ मेगावाटको माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
खोटाङमा निर्मित उक्त आयोजनाले गएको मंगलबारदेखि व्यवसायिक रपमा विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्टका सञ्चालक मुक्ती तिम्सिनाले बताए ।
गरिएको हेडड्रेसबाट २१०० मिटर लामो पाईप लाईनमार्फत सुंदेलकै दाम्कुबेसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानी छ । आयोजनाको लागत ६० करोड रुपैयाँ पुगेको छ । २०७३ सालदेखि आयोजनाको निर्माण सुरु गरिएको हो ।
चालु आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेनका साथै ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको मोदी, ३० मेगावाटको न्यादी, २५ मेगावाटको माथिल्लो दोर्दी ए, २७ मेगावाटको दोर्दीखोला, ११ मेगावाटको खारे, ३० मेगावाटको खानीखोलालगायत डेढ दर्जन बढी आयोजना सम्पन्न हुने तयारीमा छन । गत वर्ष प्रणालीमा १५० मेगावाट बिजुली थपिएको थियो ।